सांसदले झुटो बोलेर कर्मचारीको तेजोबध गरे, सनकलाई कसले दिने दनक ?

सोमबार, साउन २८, २०८१

सनकका भरमा कर्मचारीलाई सदन बाटै घुस्याहा करार गर्ने पूर्व मन्त्री समेत रहेका बहालवाला सांसद बीरेन्द्र महतो आफैं पंगु बनेका छन्। 

आफ्ना छोराको समकक्षताका लागि घुस दिनुपरेको भन्ने जनता समाजवादी पार्टी(जसपा)का सांसद महतोको आरोप झुटो भएको छानबिन समितिले निष्कर्ष निकालेको छ। सांसद महतोले संसदको रोष्टमबाटै छोराको समकक्षता लिँदा घुस खुवाएपछि मात्रै काम बनेको भन्दै बोलेका थिए।

उनले सोही कुरा बोलेसँगै सदन र बाहिर यो कुराले निकै चर्चा पाएको थियो। यस विषयमा उक्त शाखामा काम गर्ने कर्मचारीको सरुवासमेत गरिएको थियो।

तर, मन्त्रालयबाट छानबिनका लागि बनाइएको समितिले भने सांसदले लगाएको उक्त आरोप झुटो भएको निष्कर्ष निकालेको छ।

सांसद महतोले गृहमन्त्री रमेश लेखकसँग आफूले सहयोगी मार्फत घुस रकम बुझाएको बताएका थिए। यद्यपि,रोष्टममा र गृहमन्त्री लेखकसँग उनले दिएको अभिव्यक्ति फरक-फरक थियो। 

आफैले खनखन्ती गनेरै पाँच हजार थमाएपछि काम बनेको दाबी गरेका उनले पछि भने बहकाउमा लागेर त्यसो भनेको बताएका थिए। नेपालको कर्मचारी संयन्त्रमा केही जटिलता छन् तर हुँदै नभएको ठाउँमा घुस खुवाएँ भन्ने सांसदले झुटो बोलेर कर्मचारीको तेजोबध गरेका छन्। घुस लिने र दिने दुवै अपराधि हुन् भन्ने कुरालाई लिएर महतो माथि कारबाहीको डण्डा बर्साउन जाहेरी समेत परेको छ। 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्