पूर्वमन्त्री अनिताका सल्लाहकार बुद्धि खोरमा जाकिए

मंगलबार, साउन २९, २०८१

पूर्वमन्त्रीको सल्लाहकार भई खाएका जनमत पार्टीका केन्द्रीय सदस्य मानवतस्करी प्रकरणमा खोरमा जाकिएका छन्। र, त्यसरी ठगी धन्धा चलाउने झापाका ५४ वर्षीय बुद्धिराज न्यौपाने हुन्।  उनी जनमत पार्टीको केन्द्रीय सदस्य समेत हुन्। 

वैदेशिक रोजगारीका लागि मौरिससमा आकर्षक तलब र ग्रीनकार्डसमेत पाइने लोभ देखाएर न्यौपानेले एक महिलालाई चरम यौन तथा श्रम शोषण गरेको आरोप लागेको छ। 

ती महिला लामो यातनापछि उनी भागेर नेपालीहरुकै सहयोगमा घर फिर्ता हुन सफल त भइन् तर महिला ठूलो आर्थिक रकम गुमाउन पुगिन् भने यौन र श्रम शोषणमा परेर विक्षिप्त भएकी छिन् ।

नेपाल फर्किएपछि उनले प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोमा दिएको जाहेरीका आधारमा उक्त घटनामा संलग्न रहेको आरोपमा हिजो सोमबार न्यौपानेलाई पक्राउ गरी अनुसन्धान थालिएको ब्युरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

न्यौपानेलाई काठमाडौँ महानगरपालिका–७ गौरीघाटबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतले सोमबारै पाँच दिनको म्याद थप गरेको छ भने प्रहरीले आवश्यक अनुसन्धान थालेको बताएको छ। 

अभियुक्त न्यौपानेले आर्थिक अवस्था कमजोर भएकी पीडित महिलालाई मौरिससमा मासिक ७० हजार कमाई हुने र ग्रीनकार्डसमेत पाइने प्रलोभनमा विश्वास दिलाएर मौरिसस पु¥याएका थिए । उनले त्यहाँ पुग्नका लागि भन्दै पीडितबाट दुई लाख ५० हजार लिएका अनुसन्धानमा खुलेको ब्युरोले जानकारी दिएको छ ।

सुरुमा उनले गत माघमा मौरिसस पु¥याउन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा लगेर पीडित महिलालाई मरिसस लेखिएको क्याप टोपी लगाउन लगाई फोटो खिचे । पहिचानका लागि मौरिससमा रहेका उनका साथीलाई त्यो तस्वीर पठाए । त्यसपछि उनले गत माघ १३ गते नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मैरिसस पु¥याएका खुल्न आएको छ ।

त्यही टोपीका आधारमा पहिचानगरी मौरिससस्थित विमानस्थलमा उनका साथीले पीडितलाई रिसिभगरी मौरिसियन नागरिकलाई जिम्मा लगाएको पनि अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक मिश्रले बताए ।

मौरिससका नागरिकले अभियुक्त न्यौपानेबाट उपहारस्वरुप खरिदगरी ल्याएको भनी दैनिक १७÷१८ घण्टा घरको काम लगाई समयमा खाना खान र तलबसमेत नदिइ चरम श्रम शोषण तथा यौनशोषण गरेको पीडित महिलाले ब्युरोमा बयान दिएकी छिन् ।

पीडित महिलाले नेपाल फर्काउन अनुरोध गर्दा अभियुक्तले घर मालिकले भनेबमोजिम गर्न भनी डर, धम्कीसमेत दिएपछि काम गरेको ठाउँबाट रातिको समयमा भागेर उनी पोर्चुगलमा रहेका नेपाली नागरिकको सहयोगमा गत असार ३० गते नेपाल फर्कन सफल भएकी थिइन् ।

त्यसपछि उनले मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलमा जाहेरी दिएपछि प्रहरीले अभियुक्तको खोजी थालेकामा न्यौपाने पक्राउ परेका हुन् । 

न्यौपाने जनमत पार्टी बाट मन्त्री बनेकी अनिता देवीले सल्लहाकार नियुक्त गरेका व्यक्ति हुन्। २०८० साउन २९ गते सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी अनिताले न्यौपानेलाई मन्त्री बनेको एक साता नपुग्दै भदौ ३ गते सल्लाहकार नियुक्त गरेकी थिईन। कर्मचारीको सरुवामा पैसा उठाएको भनेर उजुरी परेपछि केही समयमै उनलाई हटाईएको भनिएको थियो।  सरुवा गर्ने भनेर पैसा बुझाएकाहरुले अहिले पनि पैसा फिर्ता मागिरहेको श्रोतको भनाई छ। 

सहसचिव र उपसचिवको सरुवा गर्न ठेक्का लिने र बैना बापत रकम असुलेर सरुवा नगरी बैना पचाउने गरेको न्यौपाने माथि आरोप लागेको छ। त्यसरी बैना दिने सहसचिव सहितका कर्मचारीले अहिले पनि न्यौपानेलाई पैसा फिर्ता मागिरहेका छन् तर न्यौपाने आफैं खोरमा पुगेका छन्। 

कांग्रेस नेता कृष्ण प्रसाद सिटौला गृहमन्त्री भएका बेला पनि उनी मन्त्रीको स्वकीय सचिव भएर काम गरिसकेका व्यक्ति हुन्। अनेक काण्डमा जोडिएका उनी कांग्रेस त्यागेर जनमत प्रवेश गरेका हुन्। buddhiraj-neupane-727x1024-1723631447.jpg

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०९:३४
प्रतिक्रिया दिनुहोस्