विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गराउन सभामुखले लगाए तातो

मंगलबार, वैशाख १८, २०८१

सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गरेर संसदमा ल्याउन निर्देशन दिएका छन्।

मंगलवार संसदीय समितिका सभापतिहरु र राष्ट्रिय दलका प्रमुख सचेतक तथा सचेतकहरुसँगको बैठकमा बोल्दै सभामुख घिमिरेले समितिमा रहेका विधेयकहरुलाई पारित गरेर संसदमा ल्याउन निर्देशन दिएका हुन्।

उनले समितिमा छलफलको क्रममा रहेका विधेयकहरुलाई संसदको आगामी अधिवेशन आह्वान हुनुभन्दा अगाडी नै बैठक बसि टुंग्याउन निर्देशन दिएका छन्। बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभामुख घिमिरेले बैठकमा समितिमा भएका विधेयकहरुको अवस्थाको बारेमा जानकारी लिएको बताए।

उनले आगामी अधिवेशनमा संसदमा आउने अवस्थामा के कति विधेयकहरु छन् भन्ने सन्दर्भमा जानकारी लिएको र आगामी अधिवेशनमा विधेयक ल्याउनेगरी तयारीस्वरुप बैठक राखिएको बताए।

सभामुख घिमिरेले आवश्यक पर्दा आगामी अधिवेशनलाई सहज रुपमा अगाडी बढाउनका लागि राजनीतिक दलका शिर्ष नेताहरुसँग छलफल गर्ने पनि बताए।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्