सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको तलब समायोजनको तयारी भइरहेको बताएका छन्। सर्वाेच्च अदालतको आदेशको सम्मान गर्दै कर्मचारीको तलब समायोजनका विषयमा छलफल भइरहेको उनले बताएका हुन्।
मंगलबार महान्यायाधिवक्ता कार्यालयको अवलोकन भ्रमणका क्रममा आयोजित कार्यक्रममा उनले तलब समायोजनको प्रसंग निकालेका हुन्।महान्यायाधिवक्ता कार्यालयको छेउमै सर्वोच्च अदालत छ। हो, त्यहि पुगेर ओलीले सो जानकारी गराएका हुन्। सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि तलब वृद्धिका विषयमा छलफल भएको थियो।
सर्वोच्च अदालतले मर्यादाक्रमअनुसार फरक रहेको तलबमानमा एकरुपता कायम गर्न आदेश दिएको छ। अदालतको आदेश अनुसार साउन १ गतेदेखि नै लागू हुने गरी तलबमान समायोजन गर्ने तयारी सरकारले गरेको छ। समान मर्यादाक्रममा रहेका तर अन्य सरकारी सेवाको भन्दा कम सुरु तलब रहेको कर्मचारीको तलब समायोजन गर्न सर्वोच्चले असार १० गते परमादेश आदेश जरी गरेको थियो।
आदेश अनुसार निजामती सेवाका राजपत्रांकित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीको सुरु तलबमान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवामा रहेका कर्मचारीसरह हुनेछ।
यस वर्षको बजेट संसदबाट पारित भइसकेकाले तलब वृद्धि गर्दा कति आर्थिक दायित्व सिर्जना हुन्छ र कुन स्रोतबाट समायोजन गर्ने भनेर छलफल भइरहेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए। राजपत्र अनंकित कर्मचारीले भने आफूहरु प्रति विभेद गरिए आन्दोलन गर्ने घोषणा गरेका छन्।