कतारबाट नेपाल आएका व्यक्तिलाई बन्धक बनाउने दुई भाई खोरमा

मंगलबार, वैशाख १८, २०८१

कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सप्तरीको राजविराजका सिकेन्द्र यादवलाई सिनामंगलमा बन्धक बनाएको आरोप लागेका दुई जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा एमडी सहनी र अजिम अली रहेका छन् ।

प्रहरीका अनुसार नेपाल आएलगत्तै यादवलाई बन्धक बनाएर उनीहरूले उनको परिवारसँग चार लाख ८० हजार रुपैयाँ मागेका थिए ।

कतारबाट एक व्यक्तिले यादवको साथमा सुन पठाएको तर नेपाल ओर्लेपछि यादवले ल्याएको सुन अर्कै व्यक्तिले बुझेपछि उनलाई बन्धक बनाएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।

उनका अनुसार घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि टोली खटिएको र सिनामंगलमा यादवलाई हातखुट्टा बाँधेर राखेको अवस्थामा उद्धार गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्