सोसल मिडिया
युनिकोड
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवकहरु सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताएका छन् ।
ललितपुरमा बुधबार आयोजित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम- २०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले यदाकदा सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने प्रवृत्ति देखिएको भन्दै सबैप्रति समान व्यवहार गर्न आग्रह गरे । उनले पोशाकका आधारमा व्यवहार नगरी सेवाग्राहीका समस्याहरु बुझेर यथोचित ढंगले सम्बोधन गर्न निर्देशन दिए ।
आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने उनले बताए । उनले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र सहज ढंगबाट सेवा प्राप्त गर्ने अनुकूल परिस्थिति निर्माण गर्ने काममा ध्यान दिन आग्रह गरे ।
हाकिमको आदेश भन्दापनि कानुनसँग, राष्ट्रको हित र नागरिकको हितसँग बाझिएका बाहेकमा डराउनुपर्ने स्थिति नरहेको उनले बताए ।
‘आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्छ । जो सुकै किन नहोस्, हरेक सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र उसले सहज ढंगबाट सेवा प्राप्त गर्ने अनुकुल परिस्थिति निर्माण गर्ने काममा ध्यान जानुपर्छ । यहाँहरुले विषयको आधारमा नो भन्न सक्नुपर्छ । विषयको आधारमा एस भन्न सक्नुपर्छ । नो भन्न सक्नुहुन्न भने तपाईं आफ्नो हाकिमको साम्नेमा, आदेश, त्यो भन्दा माथिको आदेश, यदाकदा मन्त्रीको आदेश आउला । त्यो आदेश कानूनसँग, राष्ट्रको हित, नागरिकको हितसँग बाझिएको छ भने त्यस्तो अवस्थामा नो भन्न सक्नुपर्छ । यो मिल्दैन, म गर्न सक्दिन भन्न सक्नुपर्छ’ उनले भने ।
उपप्रधानमन्त्री पौडेलले सरुवा/बढुवाका लागि मन्त्री र नेताको घर नजान पनि आग्रह गरे । उनले सरुवा/बढुवामा अन्यथा भए मर्यादित ढंगले आफ्ना तर्कहरु राख्न आग्रह गरे ।
उनले सोर्स लगाउने कर्मचारीहरू क्षमताले जतिसुकै सक्षम भएपनि निरिह र कमजोर हुने बताए । उनले उनीहरु राष्ट्रको सेवाभन्दा पनि सोर्स लगाउनेप्रति अनुगृहित हुने बताए ।
उनले भने,’अहिले पछिल्ला दिनहरुमा हामीले केही गम्भीर चुनौतिको सामना गरिरहेका छौं । राजश्व परिचालनका दृष्टिकोणले हामीले लक्ष्य भेदन गर्न अफ्ठ्यारो परिरहेको छ । बेरुजु बढिरहेको छ । लेखा प्रणालीमा हामी दुरुस्त हुन सकिरहेका छैनौं । महालेखा परीक्षण कार्यालयका सामुन्नेमा लेखा परीक्षणका अनगिन्ति एजेण्डाहरु थपिएका छन् । पोस्टिङ जस्ता विषयमा अन्यथा भयो भने मर्यादित ढंगले आफ्ना तर्कहरु राख्नुहोला । तर नेता, मन्त्रीकहाँ मलाई यो ठाउँमा पठाइदिनुस् भनेर सोर्स लगाउन नजानु होला । सोर्स लगाउने कर्मचारीहरु क्षमताले जतिसुकै सक्षम भएपनि उनीहरु वास्तवमा निरिह र कमजोर हुन पुग्छन् । उनीहरु राष्ट्रको सेवा भन्दा पनि जसको सोर्समा पदस्थापन, बढुवा, सरुवा हुन्छन्, उनीहरु अनुगृहित हुने स्थिति सिर्जना हुन्छ । त्यो बाटो नहिँड्नु होला ।’