सोसल मिडिया
युनिकोड
कर्मचारीको सरुवा र छेपाराको रंग अचेल उस्तै मात्र भएको छैन रंग बदल्ने छेपारो भन्दा सरुवा तगडा भएको छ। को कति बेला कहाँ सरुवा भएर पुग्छ टुंगो नै हुन छोडेको छ। पछिल्लो छ महिनामा शहरी विकास मन्त्रालयमा तीन उपसचिवको सरुवा भएको छ। आन्तरिक प्रशासन शाखाका उपसचिवको अदली बदली रमाईलो छ। उपसचिव जीवन सेढाईले शहरी छोडेपछि आन्तरिक प्रशासनमा उपसचिव टिक्दै टिकेनन्।
सेढाईलाई विस्थापित गरेका सुर्य उपाध्याय तीन महिना भन्दा बढी बरण्डामा बसेर आन्तरिकमा पसे तर उनले त्यहाँ इन्जोए गर्नै सकेनन्। छ महिना जति बसेर गृहमन्त्रालयमा सरुवा मिलाए। अहिले उनी अध्यागमन विभाग पुगेका छन्। सुर्यले बाटो तताएपछि टीकाराम ढकालको सरुवा भयो। पत्रै नबुझी ढकालले गृहमै सरुवा मिलाए। ढकाल शहरी नगएपछि त्यो स्थानमा रामदत्त भट्टको सरुवा भयो। उनी पनि टिक्न सकेनन्। आजै मात्र खाँदबारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पत्र बुझेर भदौ २ गतेदेखि लागु हुने गरिको रमाना बनाएर मन्त्रालय छोडेका छन्।
शहरी छोड्ने मात्र होइन भित्रिने र त्यहिँ टिकीरहने पनि छन्। बैकुण्ठ उपाध्याय चालिसे तेश्रो पटक शहरीमा सरुवा मिलाएर पुगेका छन्। जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद इस्तियाक राई सहरी विकाश मन्त्री छँदा पहिलो पटक मन्त्रीको निजी सचिवका रुपमा सहरी पसेका उपसचिव चालिसेलाई सहरीको स्वादले अझै छोडेको छैन। २०७४ मा इस्तियाक मन्त्री थिए। उ बेला उपेन्द्र यादवको पार्टीमा रहेका राई अहिले सो पार्टी विभाजन गरे जनता समाजवादी पार्टीको महासचिव छन्।
जता-जता इस्तियाक उतै उतै बैकुण्ठ भन्या झैँ गरि उनी इस्तियाक भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा पनि भौतिक मै पुगे। सडक विभाग,रेल विभाग हुँदै अहिले फेरी सहरीमा फन्को मार्न पुगेका छन्। २०६८ मै इस्तियाक श्रम मन्त्री हुँदा हुनको हिमचिम बढेको थियो। त्यो बेला बैकुण्ठ शाखा अधिकृत थिए भने अहिलेका प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुस्कर कर्ण उपसचिव थिए। जब पुस्कर सामान्य सचिव भए उनले बैकुण्ठलाई सडक विभागबाट सरुवा गरेर सर्लाहीको स्थानीय तहमा खेदाए। पुस्करको सामान्यबाट सरुवा भएपछी बैकुण्ठले सरुवा संसोधन गराउन सफल भएका थिए।
अरू उपसचिव सहरीमा नटिक्दा डिल्लीराज श्रेष्ठ भने तीन बर्ष देखि समाएरै बसिरहेका छन्।
उता,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासन तर्फका दुई उपसचिव भित्रिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका ईश्वरीप्रसाद ढकाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत हरि पंगेनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भित्रिएका हुन्। ढकाल प्रमुख जिल्ला अधिकारी समेत भइसकेका अनुभवी उपसचिव हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव सुरेशराज जोशी भने स्वास्थ्य मन्त्रालयबाट बाहिरिएका छन्। जोशीको सरुवा गृह मन्त्रालयमा भएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विनोद कुमार दाहाल विद्युतीय सुशासन आयोग पुगेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव विजय शर्मा र वन तथा वातावरण मन्त्रालयकी रत्नेश शशि पुगेका हुन्। विजय लामो समय सामन्यको बरण्डामा थिए।
त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव नीता शर्माको रक्षा मन्त्रालयमा सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै फणिन्द्रप्रसाद पौडेल पनि रक्षा मन्त्रालय पुगेका छन्। नीताको महिला बाट युवा परिषदमा सरुवा भएको धेरै भएकै छैन।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव हेम राजभुसाल राष्ट्रिय महिला आयोग र राष्ट्रिय महिला आयोगका उपसचिव माधवराज मरासिनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा साटफेर भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कृष्णप्रसाद चापागाईँ गृह मन्त्रालय सरुवा भएका हुन्। चापागाईं पनि धेरै सरुवा हुने उपसचिवमा पर्छन।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवहरू छविलाल पौडेल गृह मन्त्रालय, रामहरी पाण्डेको राष्ट्रिय योजना आयोग, र रविन ढकाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका छन्। अरु केही उपसचिवको पनि आजै पत्र बनेर बुझीसकेको सामान्य श्रोतको भनाई छ।