भ्रष्टाचारको आरोप लागेका गोदावरीका मेयर,उपमेयर र कर्मचारीले पाए अभयदान

बुधबार, साउन ३०, २०८१

विशेष अदालतले भ्रष्टाचारको आरोप लागेका ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहितलाई सफाइ दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सबै आरोपितलाई सफाइ दिएको हो । अदालतले आरोप दाबी पुष्टि नहुने फैसला गरेको हो ।

"...गोदावरी नगरपालिकाले गरेको विवादित निकासी कर निर्धारण नगरपालिकाले आर्थिक ऐनमा नै तोकेको करको दरको आधारामा मात्र बोलपत्र आह्वान गरी सक्षम पक्षलाई निर्धारण गरेको देखिन्छ । यी प्रतिवादीहरू नगरकार्यपालिका पदाधिकारी जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरूको रूपमा सेवारत रहेको हुँदा नगरसभाबाट निर्मित कानुनको कार्यान्वयनसम्म गर्ने हैसियतमा रहेको देखिन्छ," अदालतले भनेको छ ।

उनीहरूमाथि ढुंगा तथा बालुवा उत्खनन् र बिक्री वितरणमा राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर महर्जन र उपमेयर मुना अधिकारीले पाँच वर्षमा एक अर्ब चार करोड ८६ लाख ६५ हजार २८७ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित २१ जेठमा मुद्दा दायर गरेको थियो । उनीहरूले अघिल्लो पाँच वर्षे कार्यकालमा भ्रष्टाचार गरेको अख्तियारको निष्कर्ष थियो ।

नगरपालिकामा ५ वर्षमा ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका थिए, विश्वराज मरासेनी, कृष्णप्रसाद जैसी, वीरेन्द्रदेव भारती र प्रवीन कोइराला। उनीहरूविरूद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको थियो। विशेष अदालतबाट ती सबैले सफाइ पाएका छन्।

राजस्व परामर्श समितिका सदस्य-सचिव (लेखा शाखा प्रमुख)का रूपमा यमलाल बेल्वासे, श्रीराम आचार्य र श्रीकण्ठ घिमिरेविरूद्ध पनि भ्रष्टाचार मुद्दा चलेको थियो।

क्रसर उद्योगहरूमा सप्तपथ निर्माण कम्पनी र सञ्चालक मदन केसी, निराकार ढुंगा रोडा उद्योग र सञ्चालक मधुसूदन डोटेल, मछिन्द्रनाथ मल्टिपर्पोज र सञ्चालक केदारनाथ तिमल्सेना, सजिलो रोडा ढुंगा उद्योग र सञ्चालक शशिराज शाही, वीरेन्द्र महर्जन ढुंगा उद्योग र सञ्चालक वीरेन्द्र महर्जन, माली निर्माण सेवा र सञ्चालक प्रकाश माली र कर्मा कन्सट्रक्सन तथा सञ्चालक रवि महर्जन पनि भ्रष्टाचार मुद्दामा अभियुक्त बनाइएका थिए। अदालतले सबैलाई सफाई दिएको छ। 
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्