माओवादीको रोजाईमा सडक र सदन, सरकारलाई कसरी देखाउँदैछ दम ?

बिहीबार, साउन ३१, २०८१

नेकपा माओवादी केन्द्रले प्रदेशस्तरमा संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकले सवै प्रदेशमा निरन्तर संयुक्त परामर्श समितिको बैठक बस्ने निर्णय गरेको हो। परामर्श समितिको सवै बैठकमा अध्यक्षदेखि उपमहासचिवसम्मका नेताहरु सहभागी हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

उनले बागमतीमा भदौको ५ देखि ६, उपत्यका विशेष प्रदेशमा ७ देखि ८ गण्डकीमा ९ देखि १०, सुदूरपश्चिममा १२ देखि १३, कर्णालीमा १४ देखि १५ गते, लुम्बिनी प्रदेशमा भदौको १६ देखि १७ गते बैठक बस्ने बताए।

उनका अनुसार अध्यक्षलगायत उपमहाचिवसम्म सबै प्रदेशमा जाने, जनताको कुरा सुन्ने, बुझ्ने र जनताको कुरा लिने र आफ्नो कुरा दिने गतिविधिलाई अगाडि बढाइने निर्णय भएको छ।

त्यस्तै भाद्र ३० गतेसम्म अन्य प्रदेश, मोर्चा, मञ्च लगाएको बैठक हुने माओवादी केन्द्रले जनाएको छ। सवै प्रदेशको बैठक सम्पन्न भएपछि व्यवस्थित दस्तावेज तयार पारेर असोज पहिलो साता केन्द्रीत कमिटीको बैठक बस्ने सापकोटाले जानकारी दिए।

त्यस्तै बैठकले सदन, सडकलाई सशक्त पार्दै र माओवादीले जितेका १ सय २२ स्थानीय तहलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय गरेको उनले बताए। उनले नेकपा एकीकृत समाजवादीलगाएतसंग एकताका लागि निरन्तर छलफल भइरहेको बताए।

स्थायी कमिटी बैठकमा सबैभन्दा बढी छलफल पार्टी रूपान्तरण र शुद्धीकरणका बारेमा भएको उनले बताए।

‘हाम्रो छलफल सबैभन्दा बढी रूपान्तरण र शुद्धीकरणमा भएको छ। हामी अहिले सर्वसम्मत रुपमा के निश्कर्षमा पुग्यौं भने रूपान्तरणको आधार भनेको विचार हो, राजनीतिक कार्यदिशा हो। त्यसमा ८औं महाधिवेशनले निर्देश गरेको वैचारिक राजनीतिक कार्यदिशा नै हाम्रो लागि मार्ग निर्देशक कार्यदिशा हो,’  उनले भने।

बैठकमा नेताहरुको कार्यबिभाजनका बारेमा भने कुनै निर्णय नभएको सापकोटाले उल्लेख गरे। बैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको मतभेद अन्त्य गर्दै पार्टीलाई बलियो बनाउदै लैजानुपर्ने बताएका थिए।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  २०:२९
प्रतिक्रिया दिनुहोस्