तीन तहका सरकारबीच तालमेल भए मात्र समृद्धि हासिल हुने कांग्रेस महामन्त्रीले गरे ठहर

मंगलबार, वैशाख १८, २०८१

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको चाहनाअनुरुप आर्थिक समृद्धि हासिल गर्न तीन तहको सरकार मिलेर अघि बढ्नुपर्नेे बताएका छन्  । काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २८ औँ साधारणसभाको आज उद्घाटन गर्दै उनले  विकास निर्माणको कार्यमा सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच तालमेल हुनुपर्नेमा जोड दिए । मुलुकमा विकास नभएको भनेर व्यवस्थाविरुद्ध नकारात्मक भ्रम छर्ने प्रयास भइरहेको जनाउँदै उनले जनप्रतिनिधिहरुले त्यसलाई चिर्दै राजनीतिक आस्थाको आधारमा कसैप्रति विभेद गर्न नहुने बताए ।

“म महामन्त्रीको रुपमा कांग्रेस हुँ, तर सांसदको रुपमा सबै पार्टीमा आस्था राख्नेको साझा प्रतिनिधि हुँ”, आफैँलाई उदाहरण दिँदै उनले भने, “जनप्रतिनिधि भएर काम गर्दा राजनीतिक आस्थाको कुरा हेर्दिन । को कुन पार्टीको हो भनेर विभेद कहिल्यै गरेको छैन ।”

जनताले आम चुनावमार्फत सिंहदरबारको ढोका ढक्ढक्याउन पठाएको उल्लेख गर्दै उनले  जनताका समस्याको समाधान र विकास निर्माणका कार्यका लागि आफुले सदन र सरकारलाई निरन्तर सचेत गराइरहेको बताए  । उनले काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्न सुझाव दिए । “प्रविधिप्रति अविश्वास गर्नुहुँदैन, भोटिङ मेसिन प्रयोग गर्दा आम उपभोक्ताको सल्लाह र सहमति लिनुहोस्”, उनको भनाइ थियो ।

दुई पूर्वनगर प्रमुख सम्मानित

कार्यक्रममा मेचीनगर नगरपालिकाका पूर्वनगर प्रमुखद्वय रवीन कोइराला र विमल आचार्यलाई यस क्षेत्रको सामाजिक तथा राजनीतिक विकासमा पु¥याएको योगदानका लािग सम्मान गरिएको थियो । उनीहरुलाई सङ्घीय सांसद विश्वप्रकाश शर्माले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे  । पूर्वनगर प्रमुखद्वय कोइराला र आचार्यले काँकडभिट्टा खानेपानीको स्थापना र विस्तारमा ठूलो योगदान पुर्याएको संस्थाका अध्यक्ष राजकुमार पराजुलीले बताए। 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  २१:१०
प्रतिक्रिया दिनुहोस्