बालविकास शिक्षकहरूको तलब मासिक २० हजार पुर्याउन को-को भए राजी ?

सोमबार, भदौ ३, २०८१

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले  बालविकास शिक्षकहरूको तलब बढाउन आवश्यक पहल गर्ने आश देखाएका छन्।  बालविकास शिक्षाकाे अवस्थाबारे बालविकास शिक्षकहरूले मुख्यमन्त्रीको ध्यानाकर्षण गराउन गएका बेला उक्त आशा देखाएका हुन्। 

शिक्षक निर्मला सुवेदीले मुख्यमन्त्री कंडेललाई विशेष गरी कर्णाली प्रदेशमा रहेका २९०० बालविकास केन्द्रको शैक्षिक अवस्था, केन्द्र संचालनमा सहजीकरण र कर्णाली प्रदेश सरकारबाट प्राप्त चाडबाड खर्चबारे ध्यानाकर्षण गराएकाे जानकारी दिइन्।

त्यसैगरी सुवेदीले वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८१ को नीति तथा कार्यक्रमअनुसार २०८१ साउनदेखि लागू हुने गरी बालविकास शिक्षकहरूकाे तलब वृद्धि गर्न लागेकाे पनि जानकारी दिइन्।

अहिले नगरपालिकाबाट सात र संघीय सरकारबाट १० हजार रुपैयाँ गरी बालविकास शिक्षकले १७००० हजार रुपैयाँ पाउँछन्। सुवेदीका अनुसार अब नगरपालिकाले तीन हजार रुपैयाँ थप गरी २० हजार रुपैयाँ पुर्‍याउने भएकाे छ।

वीरेन्द्र नगरलेजस्तै अन्य पालिकाले पनि बालविकास शिक्षककाे तलब वृद्धि गरे राहत हुने सुवेदीले बताइन्। यता काठमाडौँ महानगरले पनि बीस हजार तलब बढाएको छ। चितवन र बिराटनगरमा पनि पहल भएको बुझिएको छ। सरकारले देशैभरका बालविकास शिक्षकहरूको तलब मासिक २० हजार पुर्याउने बताएको छ। 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्