संविधान संशोधनका लागि सबै दललाई मनाउने देउवाको दाबी

बुधबार, भदौ ५, २०८१

सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरूलाई साथमा लिएर अघि बढ्ने बताएका छन्।

मंगलबार नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक स्व.प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दुई ठुला पार्टीबीचको संविधान संशोधन गर्ने सहमतिलाई अन्य दलहरूले आफ्नो खिलापको रुपमा लिन नहुने पनि बताएका हुन्।

लोकतन्त्रप्रति प्रतिवद्ध काँग्रेस र एमालेले संविधान संशोधनका लागि गरेको सहमति सबै दललाई साथमा लिएर अघि बढाउनका लागि भएको देउवाको भनाई थियो। 

देउवाले संविधान संशोधनको क्रममा उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने विषयमा अन्य दलको सहमति भए आफूहरूले सो विषयमा पनि संविधान संशोधन गरेर अघि बढ्न तयार रहेको बताए।

उनले भने,’अब यो राष्ट्रिय सभाको अध्यक्ष को बन्ने? यहि सहमति बन्छ भने उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दुनियाँभरको चलन छ। यावत कुराहरूमा गर्ने गरेर अघि बढेका हुन। त्यसकारण यी विषयमा दुईटा पार्टीबीच सहमति भएको छ। यो दुई पार्टीबीचको सहमति कुनै पार्टीको खिलाफमा होइन। यो सहमतिमा अरु सबै पार्टीहरूलाई समेट्दै लैजाने हो। र नेपालमा अझ प्रजातान्त्रिक सिद्धान्तलाई समाजवाद उन्मुख बनाउने विषयलाई ध्यानमा राखेर हामी अघि बढ्न खोजिराखेका छौँ।’

सभापति देउवाले दुई ठूला पार्टीबीचको सहमतिमा आउनु मुलुकका लागि आवश्यक रहेको पनि बताए।

उनले भने,’ त्यसैले जुन हामी बीचमा सहमती भएको छ। त्यो सोची विचार कन भएको सहमति हो। दुई वटा पार्टी मिले भइहाल्यो नि भन्ने पनि सुनियो। दुई वटा पार्टी मिल्नुको मतलव अरु कुनै पार्टीको खिलापमा होइन। त्यसकारण नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), माधवकुमार नेपालजीको पार्टी नेकपा एसलगायत हामी सबै दलहरूलाई एकसाथ लिएर अघि बढाउने हो। सबै पार्टीहरूलाई साथसाथै लिएर जाने हो।’

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ०८:१२
प्रतिक्रिया दिनुहोस्