सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आजदेखि केन्द्रीय समिति बैठक बस्दैछ । पार्टी कार्यालय वनस्थलीमा बस्ने बैठकमा विभिन्न १० वटा एजेण्डमा छलफल हुने बताइएको छ ।
बुधबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पूर्वमहामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने तयारी गरिएको छ । एक केन्द्रीय सदस्यका अनुसार बैठकमा पूर्वमहामन्त्री डा ढकालको विषयमा गम्भीर छलफल हुनेछ । त्यसपछि ढकालको बारेमा पार्टीले निर्णय गर्ने भएको छ ।
पार्टी हितविपरीत गतिविधि गरेको भन्दै उनलाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएसँगै निरन्तर सभापति रवि लामिछानेविरुद्ध कडा अभिव्यक्ति दिँदै आएका छन् । उनीसँग पार्टीले दुईपटक स्पष्टीकरण सोधिसकेको छ ।
असार तेस्रो साता बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट समेत पदमुक्त गर्दै साधारण सदस्यमात्रै कायम गरेको थियो । यस्तै, केन्द्रीय समिति बैठकमा यसअघिका ७ एजेण्डा तय भएकोमा अहिले ३ वटा थपेर १० बनाइएको छ ।
बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, पार्टीको राष्ट्रिय भेला तथा कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको कार्यक्रमबारे छलफल हुनेछ । यस्तै, संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धिबारे पनि बैठकमा छलफल हुने रास्वपाले जनाएको छ ।
यस्तै, स्थानीय तह उपनिर्वाचनबारे छलफल गर्नुका साथै, भ्रष्टाचारको मुद्दाको हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास र भ्रष्ट एवं स्वार्थ बाझिनेलाई मन्त्री नियुक्तिबारे र केन्द्रीय अनुशासन आयोगको सिफारिस सहितको प्रतिवेदनबारे छलफल हुने बताइएको छ ।