सोसल मिडिया
युनिकोड
लोकतान्त्रिक आन्दोलन (२०६२/०६३) सफल भएपछि मुलुकले २० जना परराष्ट्रमन्त्री पाएको छ। यसमा १७ फरक अनुहार छन् भने तीनजना दोहोरिएका छन्। भारतीय सत्तामा नरेन्द्र दामोदरदास मोदीको उदयपछि नेपालमा परराष्ट्रमन्त्रीका रूपमा ९ नयाँ अनुहार आइसकेका छन्। भारतमा भने उनको तेस्रो कार्यकालमा पनि सुष्मा स्वराजपछि परराष्ट्रमन्त्री बनेका एस जयशंकर छन्।
प्रधानमन्त्री केपी ओली दोस्रो जनआन्दोलनलगत्तै गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्री थिए। त्यतिबेला भारतमा कांग्रेस आईका नेता डा. मनमोहन सिंह प्रधानमन्त्री थिए। ओलीपछि सहाना प्रधान, उपेन्द्र यादव, सुजाता कोइराला, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, माधवप्रसाद घिमिरे, महेन्द्रबहादुर पाण्डे, कमल थापा, प्रकाशशरण महत, कृष्णबहादुर महरा, प्रदीप ज्ञवाली, रघुवीर महासेठ, नारायण खड्का, विमला राई पौड्याल, एनपी साउद र आरजु राणा देउवाले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका छन्। आरजु अघि नारायणकाजी श्रेष्ठ दोहोर्याएर परराष्ट्रमन्त्री भएका थिए।
अघिल्ला परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारत भ्रमण गर्न पाएनन्। त्योभन्दा अघि परराष्ट्र मन्त्रीका रूपमा भारत भ्रमणमा जाँदा श्रेष्ठले कार्यकारी प्रमुखसँग भेट गर्न पाएका थिएनन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पछिल्लो सरकारमा परराष्ट्रमन्त्री बनेका श्रेष्ठले दुईपटक चीनको भ्रमण गरे पनि भारत गएनन्। डा. विमला राई पौड्याल, ईश्वर पोखरेल, रघुवीर महासेठले त भारतको भ्रमण गर्न भ्याएनन्। अन्य मन्त्रीले भारत भ्रमण गरे पनि कार्यकारी प्रमुखसँग भेट्नेमा थोरैमात्र छन्।
ओलीले आफू परराष्ट्रमन्त्रीका रूपमा भारत जाँदा तत्कालीन कार्यकारीलाई भेटेका थिए। साथै परराष्ट्रमन्त्रीका रूपमा भारत भ्रमणका गएका उपेन्द्र यादव, सुजाता कोइराला, कमल थापा, प्रदीप ज्ञवालीले पनि भारतीय प्रधानमन्त्रीसँग भेट गरेका थिए। महेन्द्रबहादुर पाण्डे, प्रकाशशरण महत, नारायण खड्का, एनपी साउदलगायतले भने भारत भ्रमणका बेला कार्यकारी प्रमुख भेट्न पाएनन्।
सत्ता समीकरण फेरिएपछि बनेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री छिन् आरजु। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु यतिबेला भारत भ्रमणमा छिन्। गत महिना मन्त्री भएकी आरजुले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु गरेकी हुन्।
परराष्ट्रमन्त्री आरजु आएको एक महिनामा छिमेकी मुलुक भारत भ्रमणमा निस्किइन्। उनले त्यहाँ आफूले भनेअनुरूपको भेटघाट पनि गरिरहेकी छन्। भारतीय परराष्ट्रमन्त्री एस जयशंकरको निमन्त्रणामा पाँचदिने औपचारिक भारत भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेकी उनले सोमबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरिन्। आरजुको भ्रमण तालिकामा परराष्ट्रमन्त्री जयशंकरसँग भेटवार्ता तय भए पनि मोदीसँगको भेटघाट निश्चित भइसकेको थिएन। नयाँदिल्लीमा मोदीसँग भेटवार्ता हुनसक्ने सम्भावनामात्रै बताइएको थियो।
परराष्ट्रमन्त्री आरजुलाई सोमबार साँझ भारतीय प्रधानमन्त्री मोदीले ‘न्यानो स्वागत’ गर्दै भेटवार्ता गरे। आरजु-मोदीको यो भेटवार्तालाई चासोका साथ हेरिएको छ। यसअघि भारत भ्रमण गरेका अधिकांश परराष्ट्रमन्त्रीहरूले मोदीसँग भेटवार्ता गर्न चाहे पनि सम्भव भएको थिएन। मोदीको व्यस्तता वा ‘कम महत्त्व’ दिएकाले त्यहाँको प्रधानमन्त्री कार्यालयले भेटघाटका लागि समय दिने गरेको थिएन।
यसपालि भने परराष्ट्रमन्त्री आरजुले प्रधानमन्त्री मोदीसँग सहजै समय पाएकाले पनि भेटलाई चासोका साथ हेरिएको हो। उनले भारतीय परराष्ट्र मन्त्रालयभन्दा पनि पार्टीको च्यानल प्रयोग गरेर भेटघाट जुराएको जानकारहरू बताउँछन्। कतिपय विज्ञहरूले ‘मोदी-आरजु’ को भेटलाई कांग्रेस सभापति देउवाको प्रभावसँग जोडेर पनि हेरेका छन्।
राणाअघि परराष्ट्रमन्त्रीको हैसियतमा कांग्रेस नेता एनपी साउदले भारत भ्रमण गरेका थिए। ‘राइसिना संवाद’ कार्यक्रममा भाग लिन गत वर्ष फागुनमा भारत भ्रमण गरेका उनले आफ्ना समकक्षीलगायत अरू पदाधिकारीलाई भेटे पनि प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्न पाएका थिएनन्। उनले त्यो समयमा औपचारिक भ्रमण नै गरेका थिए। प्रकाशरण महत पनि परराष्ट्रमन्त्री हुँदा भारत भ्रमण त गरे। उनले पनि कार्यकारी प्रमुखलाई भेट्न पाएनन्।
परराष्ट्र मन्त्रालय रोज्ने थोरै मात्रै नेतामा आरजु परेकी छन्। अधिकांश नेताहरू गृह, अर्थ, भौतिक पूर्वाधार, सहरी विकास, ऊर्जा मन्त्रालयको नेतृत्व गर्न रुचाउँछन्। यसअघि कमल थापा, उपेन्द्र यादव र केपी शर्मा ओलीले पनि परराष्ट्र मन्त्रालय माग गरेका थिए। परराष्ट्र मन्त्रालय रोजाइको मन्त्रालयमा पर्दैन। त्यसैले यस मन्त्रालयले कूटनीति बुझेको र सक्षम व्यक्तिलाई कहिलेकाहीँ मात्रै पाउने गरेको छ।