रविको सांसद र मन्त्री पद खुस्काइदिएका व्यक्तिले ओलीका चार मन्त्रीविरुद्ध हाले उजुर

बिहीबार, भदौ ६, २०८१

कांग्रेस-एमालेको अभूतपूर्व मिल्तीपछि बनेको ओली सरकारका चार जना मन्त्रीलाई कारबाहीको माग राख्दै अख्तियार गुहारिएको छ। 

सर्वोच्च अदालतमा रिट हालेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तत्कालीन सांसद र मन्त्री पद खुस्काइदिएका सिन्धुलीका युवराज सफल भनिने पौडेलले त्यसरी अख्तियार गुहारेका हुन्। 

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, ऊर्जामन्त्री दिपक खड्का र श्रममन्त्री शरदसिंह भण्डारीविरुद्ध आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका हुन् । चारै जना आर्थिक अनियमिततामा मुछिएको दाबी गर्दै राजनीतिक पहुँचका आधारमा उनीहरुलाई मन्त्री बनाइएकाले तत्काल छानविन गर्न उजुरकर्ताको माग छ । 

उजुरीमा उपप्रधानमन्त्री पौडेलको आर्थिक हैसियतमाथि प्रश्न उठाइएको छ । सरकारी सम्पत्तिको दुरुपयोग गरेर उनले व्यक्तिगत सम्पत्ति जोडेको युवराजले दाबी गरेका छन् । 

ललिता निवासको सरकारी जग्गा खरिद प्रकरण र नक्कली सुकुम्बासी बनेर रुपन्देहीको देवीनगरमा सार्वजनिक जग्गा हत्याएको विषयमा पौडेलमाथि छानबिन हुनुपर्ने उजुरीपत्रमा उल्लेख छ । पौडेलका छोरा नविनले पनि नक्कली सुकुम्बासी बनेर सरकारी जग्गा हड्पेको जिकिर गरिएको छ । 

सी–०११२२८ दर्ता नम्बर रहेको उजुरीमा भनिएको छ,‘रुपन्देहीको रामपुर र भुताहामा आफ्नो नाममा जग्गा जमिन हुँदाहुँदै बुटवलको सुकुम्बासी बस्ती देवीनगरमा बसाईसरी गएको र त्यही पौडेलका छोरा नवीन पौडेलले सुकुम्बासी समस्या समाधान आयोगबाट नक्कली सुकुम्बासी बनि सरकारी सार्वजनिक जग्गाको पुर्जा लिएको देखिन्छ । अतः आफ्नो जग्गा जमिन हुँदाहुँदै राज्यको निकायलाई शक्ति र पहुँच लगाई नक्कली सुकुम्बासी बनि जग्गा जमिन हडप्नु पनि भ्रष्टाचारजन्य कार्य हो ।’

त्यस्तै, पौडेलले नक्कली सुकुम्बासी बनेर प्राप्त जग्गा बेचेर कलंकीमा घर बनाएको युवराजको दाबी छ । परराष्ट्रमन्त्री देउवामाथि भने नक्कली भुटानी शरणार्थी र टिकापुरको जग्गा घोटाला प्रकरणमा छानबिन हुनुपर्ने माग गरिएको छ । उनलाई तत्काल पक्राउ गरी छानबिन अगाडि बढाउन युवराजले अख्तियारको ध्यानाकर्षण गराएका छन् । 

नेपाल स्काउटको सरकारी जग्गा हिनामिना एवं दुरुपयोगमा मुछिएका ऊर्जामन्त्री खड्काले विगत १५ वर्षदेखि सार्वजनिक जग्गा मिचेको दाबी गर्दै उजुरीमा उक्त अनियमिततामाथि अनुसन्धान गर्न माग गरिएको छ । त्यसैगरी ऊर्जासँग सम्बद्ध निकायको सञ्चालक बनेर खड्काले स्वार्थ लिएको युवराजको आरोप छ । 

त्यस्तै, उजुरीपत्रमा श्रममन्त्री भण्डारीले म्यानपावरहरुबाट लाभ लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई मर्कामा पार्न खोजेको दाबी गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्