सोसल मिडिया
युनिकोड
कोशी प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मत कार्की तथा सत्ताको नेतृत्वकर्ता नेकपा एमालेसँग पहिला सहमति भए भन्दा एक मन्त्रालय बढी मागेपछि विवाद भएको छ । कांग्रेसभित्रको आन्तरिक समस्या व्यवस्थापन गर्न मुख्यमन्त्रीसँग ५ मन्त्रालय मागेपछि विवाद भएको हो । ११ साउनमा कांग्रेस एमालेबीच कांग्रेसले ४ र एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय लिने सहमति भएको थियो ।
भाग पाएका मन्त्रालयमा गुटगत रूपमा मन्त्रालय मिलाउन नसकेपछि थप एक मन्त्रालय माग्दा समस्या देखिएको हो । सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहलाई २–२ र कृष्णप्रसाद सिटौला समूहलाई एक मन्त्रालय दिन कांग्रेसले ५ मन्त्रालय मागेको हो ।
११ साउनमा भएको सहमतिमा एमालेले मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पाउने सहमति भएको थियो । त्यसअनुरुप मुख्यमन्त्री कार्कीले एमालेबाट मन्त्री नियुक्त गरिसकेका छन् ।
कांग्रेसले भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन वन तथा वातावरण मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय लिने सहमति भए पनि अहिलेसम्म सरकारमा नगएर अहिले थप एक मन्त्रालय मागेको हो ।
कोशीमा अहिले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित ९ वटा मन्त्रालय छन् । कांग्रेसले २ वटा मन्त्रालय विभाजन गरेर मन्त्रालय सङ्ख्या ११ वटा पु¥याइ आफूहरूले ५ मन्त्रालय पाउनु पर्ने माग गरेको हो । कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले मन्त्रालय फुटाएर ११ बनाइ आफूहरूले ५ मन्त्रालय पाउनुपर्ने मुख्यमन्त्री कार्की र एमालेसँग कांग्रेसको प्रस्ताव रहेको जानकारी दिए ।
तर मन्त्रालय विभाजनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्की तयार छैनन् । केन्द्रबाट प्रदेशलाई बलियो बनाउने गरी थप अधिकार आएमात्रै कांग्रेसको माग पूरा हुन सक्ने मुख्यमन्त्री कार्की बताउँछन् ।