सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अति निकटतम रमेश लेखक केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री छन्। यो अघि दुई पटक मन्त्री भएका लेखकले तेश्रो पटक मन्त्री बन्दा गृहमन्त्रालय नै पाए। उसै पनि गृहमन्त्रालय मन्त्रालय मध्येको पनि रोज्जा मन्त्रालय हो। कामकाजी मन्त्रालय पाएका लेखक आफैमा पनि कामकाजी र अहिले सम्म विवादमा नमुछिएका बेदाग मन्त्री हुन्।
तर, जसै उनी गृहमन्त्री बने त्यसपछि उनको मन्त्रालयमा लगिएका केही कर्मचारीका कारण उनी आफ्नो बेदाग छवि आफैं ध्वस्त पार्ने चरणमा पुगेको प्रारम्भिक संकेत देखिन थालेका छन्। काण्डमा जोडिएका र चलखेल गर्नमा माहिर केही सहसचिवलाई गृहमन्त्रालयमा भित्र्याएर लेखकले राम्रो संकेत दिएका छैनन्।
पछिल्लो पटक भएको सहसचिव सरुवामा लेखकको अस्वाभाविक चासो उनैका लागि घाँडो बन्न सक्ने स्वयम् मन्त्रालयकै एक सहसचिवले बताए। सुशासनका मामिलामा चर्को बोल्ने लेखकले तत्कालिन गृहमन्त्री रवि लामिछानेको सदनमै नरम तरिकाले कडा उछितो काढेको धेरै भएकै छैन। प्रकारान्तरले लेखक त्यहि गृहमन्त्रालयमै छन् र विवादित सहसचिक बोकेर हिडेका छन्।
पछिल्ला दिनमा गृह मन्त्रालय विवादित सहसचिवहरूको अड्डा बनेको छ। खासगरी यातायातको बेथिति र अनियमिततासँग जोडिएका सहसचिवहरू गृह मन्त्रालयमा थुप्रिन थालेका छन्। यातायात क्षेत्रका चर्चित र विवादित ‘खेलाडी’ डा. टोकराज पाण्डे, गोगनबहादुर हमाल, नारायणप्रसाद भट्टराईदेखि उपसचिव हुँदा यातायातमा राइँदाइँ गरेका अर्का विवादित सहसचिव बसन्त अधिकारीसम्मको गृह मन्त्रालयमा बेग्लै फुर्तिफार्ती छ।
शालिन र भद्र स्वभावका रमेश लेखक गृहमन्त्री भएका बेला यस्ता विवादित सहसचिवको गृह मन्त्रालयमा हालीमुहाली चल्न थालेपछि उनीमाथि समेत प्रश्न उठ्न थालेको हो । गृह मन्त्रालयमा विवादित सहसचिव भित्र्याउने रवि लामिछानेको अभियानलाई रमेश लेखकले पनि निरन्तरता दिएको आरोप लाग्न थालेको हो। गृहमन्त्री लेखक अनुभवी भएपनि उनले गलत पात्र बोकेर हिँडन् थालेको गृह कै उच्च अधिकारीहरू सुनाउँछन्।
नक्कली लाइसेन्स, इम्बोस्ड नम्बर प्लेट जस्ता अनियमितता छानबिन दायरामा रहेका विवादित सहसचिवहरू एकपछि अर्को गर्दै गृह मन्त्रालयमा थुप्रिन थालेका छन्। यातायात व्यवस्था विभागको महानिर्देशक भएर विवादमा तानिएका सहसचिवहरू डा. टोकराज पाण्डे, गोगनबहादुर हमाल, नारायणप्रसाद भट्टराई अहिले गृह मन्त्रालयमा हर्ताकर्ता बनेका छन्। यसले गर्दा गृह मन्त्रालय ‘यातायात क्लब’ बन्दै गएको गृह मन्त्रालय कै उच्च अधिकारीहरूको टिप्पणी आउन थालेको छ। यसमा गृहमन्त्री लेखक मौन बस्नु रहस्यको विषय हो।
रवि लामिछाने गृहमन्त्री भएपछि गोगनबहादुर हमालले आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी पाएका हुन्। यातायातदेखि एयरपोर्ट काण्डसम्ममा विवादमा तानिएका हमाललाई रविले महत्त्वपूर्ण जिम्मेवारी दिएका थिए। उनलाई गृहमन्त्री रमेश लेखकले पनि निरन्तरता दिएका छन्। हमाल अहिले महत्त्वपूर्ण जिल्लाको सिडिओ ताकेर बसिरहेको गृह मन्त्रालयभित्र चर्चा छ। रविले बोकेका गलत मान्छे लेखेकले पनि किन बोकिरहेका छन् यसले उनीमाथि गम्भीर प्रश्न खडा गरेको हो।
रवि कै पालामा अर्थ मन्त्रालयबाट गृह मन्त्रालय छिर्न खोजेका डा. टोकराज पाण्डे लेखक आएपछि गृहमा ‘जम्प’ गरेका छन्। नक्कली लाइसेन्समा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले छानबिन थालेपछि त्यसलाई प्रभावित बनाउन गृह छिर्न खोजेका पाण्डेलाई लेखक आएपछि साइत जुरेको छ। उनी अहिले अख्तियारको छानबिनमा समेत रहेका छन्। त्यस्ता विवादित पात्रलाई गृह भित्र्याएर महत्त्वपूर्ण जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाउने तयारी भइरहेको छ । उक्त कदमले गृहमन्त्री लेखक पनि विवादमा तानिने निश्चित देखिन्छ।
नारायणकाजी श्रेष्ठ कै पालामा यातायात व्यवस्था विभागको महानिर्देशक हुँदै गृह मन्त्रालय छिरेका नारायणप्रसाद भट्टराई अहिले गृहकै महत्त्वपूर्ण मानिने सुरक्षा तथा समन्वय महाशाखा प्रमुख रहेका छन्। उनी यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा गाडीले हानेर मान्छे मार्नेलाई हिरासतमै नक्कली लाइसेन्स दिएको ‘केस’मा सिआईबीले काठमाडौं जिल्ला अदालतमा मुद्दा समेत चलाएको छ। भट्टराई जति विवादमा आएपनि नारायणकाजीदेखि रमेश लेखकसम्मलाई रिझाएर राखेका छन्।
पत्रकारिता र वकालतको पृष्ठभूमिबाट राजनीतिमा जम्प गरेका लेखकलाई तिनै केही सहसचिवले बिटुलो पार्ने संकेत देखिएको गृहकै एक सहसचिवले अनौपचारिक कुराकानीमा सुनाए। अपरिपक्क सचिवालय र बिबादित सहसचिवको घेरामा गृहमन्त्रालय हाँकिरहेका लेखक विवादमा आउने दिन टाढा नभएको ती सहसचिवको तर्क छ।
काठमाडौँ लगायतका प्रमुख जिल्ला अधिकारीको केही दिनमै लेखकले सरुवा गर्दैछन्। त्यो सुची बाहिरिए पछि धेरै चिज देख्न पाईने ती सहसचिवको भनाई छ। चोरलाई चौतारो र साधुलाई सुली भने झैँ गरि मन्त्रीको कार्यसम्पादन हुँदै गए त्यसैले धेरैतिर हान्ने गृहमन्त्रालयको उच्च श्रोत बताउँछ।