सोसल मिडिया
युनिकोड
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विचार मिल्ने पार्टीहरूसँग एकता गर्ने पक्षमा रहेको बताएका छन् ।
आइतबारबाट काठमाडौंको अर्पण बैङ्क्वेटमा सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
“विचारमा एकता हुन्छ भने, नेपाली जनताको रूपान्तरणमा विचार मिल्छ भने, युवाहरूलाई रोजगारी दिलाउने कुरामा सहमति रहन्छ भने र कार्यकर्ताको पनि व्यस्थापन हुन्छ भने हामी एक्लै पसल थापेर बस्ने पक्षमा छैनौँ,” उनले भने,”हामी एकताको विपक्षमा छैनौँ ।”
अध्यक्ष नेपालले अगाडि भने, “माओवादी र हाम्रो पार्टीबीच एकता हुने कुरा यसबीचमा आयो । कतिपयले लेखे- पदको निम्ति जान खोज्यो ! पदका निम्ति मरिहत्ते गर्ने मान्छे हौँ हामी ? हाम्रो भूमिका नेपालको राजनीतिलाई सही दिशातिर लानका लागि रहन्छ । हामी त्यही गरिरहेका छौँ ।”
पार्टी एकताका लागि कसैको प्रस्ताव नआएको जिकिर अध्यक्ष नेपालको थियो । “पार्टी एकताका लागि कसैले प्रस्ताव राखेका पनि छैनन् । गरेकै छैनन् । तर, हामी त्यतिकै गीत गाएर हिँडिरहेका छौँ । नबिराउनू, नडराउनू । मैले भन्ने गरेको छु, बिराएको छैन भने डराउनुपर्ने कुनै कारण नै छैन,” उनले भने ।
फरक प्रसङ्गमा उनले पार्टीभित्र अराजकतालाई छुट नदिने उद्घोष गरे । “तपाईं-हामी सबै गम्भीर बनौँ । पार्टीभित्र अराजकतालाई छुट नदिऔँ । जे पायो त्यो बोलेर पनि पार्टीमा बसिरहने यो स्थितिलाई बन्द गरौँ । पहिलोचोटी हामी चेतावनी दिऔँ । दोस्रोपटक अन्तिम चेतावनी दिऔँ । त्यस्ता मान्छेले यहाँ सारा स्थिति बिगार्छ बिथोल्छ भने पार्टीबाटै बिदा गरौँ । त्यस्तालाई राखेर काम छैन,” उनले भने ।
त्यस्ता नेतालाई ‘घर फोडुवा’को संज्ञा दिँदै उनले थपे, “उनीहरूले कहिल्यै घर बलियो बनाउन सक्दैनन् । सकेसम्म सुधार्ने कोसिस गरौँ, यसको मतलब कसरी बिदा गर्ने भन्ने होइन कसरी सुधार्ने भन्ने कुरा मुख्य हो । यस्ता अनुशासनहीन मान्छेहरूलाई सबैबाट मुखभरिको जवाफ दिनुस् । त्यस्ताहरूसँग सङ्गत नबढाउनुस्, त्यस्तो मान्छेसँग सङ्गत बढाउनुहुन्छ भने ठीक हुँदै छैन ।”