राजदूत नियुक्ति सिफारिस मनपरी गरेको भन्दै सत्तारुढ दलकै सांसद उफ्रिए बुरुक्क

मंगलबार, भदौ ११, २०८१

सरकारले गरेको राजदूत नियुक्ति सिफारिस समावेशी नभएको भन्दै सत्तारुढ दलका सांसदहरूले विरोध गरेका छन् । मंगलबार बसेको संसदीय सुनुवाइ समिति बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरू आनन्दप्रसाद ढुंगाना र जीवन परियार तथा एमाले सांसद ईश्वरी घर्तीले राजदूत सिफारिस समावेशी नभएको भन्दै सरकारको आलोचना गरेका हुन् ।

कांग्रेस सांसद ढुंगानाले समावेशी समानुपातिकका बारेमा अहं प्रश्न उठेको भन्दै ती प्रश्नलाई सम्बोधन गर्नुपर्ने बताए । कांग्रेस सांसद् परियारले सिफारिस समावेशी नभएकोमा समितिमा छलफल हुनुपर्ने बताए । संविधानको धारा २८३ मा समावेशी सिद्धान्तमा राजदूत नियुक्त गर्ने लेखिएको उल्लेख गर्दै उनले यसरी असमावेशी गरिरहे जनताले नमान्ने उनले बताए ।

एमाले सांसद ईश्वरी घर्तीले राजदूत सिफारिस भएकामध्ये १७ जनामध्ये १४ जना खस आर्यबाट र ३ जना आदिवासी जनजातीबाट प्रतिनिधित्व रहेको तर मधेशी, दलित, मुस्लिम र थारुको प्रतिनिधित्व शून्य भएको भन्दै यसप्रति आफूहरुको ध्यानाकर्षण भएको बताइन् ।

विपक्षी र सरकारलाई समर्थन गरेका दलका सांसदहरूले पनि राजदूत सिफारिसमा प्रश्न उठाएका छन् । सरकारले सिफारिस गरेका १७ जनाको बारेमा संसदीय सुनुवाइ समितिमा भइरहेको छलफलमा नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले संविधानमा लेखिएको कुरा कार्यान्वयनका लागि भएको भन्दै राजदूत नियुक्ति सिफारिस समावेशी बनाउनुपर्ने बताए ।

जसपा नेपालका सांसद प्रकाश अधिकारीले सरकारले संविधानको पालना नगरेको बताउँदै भने, ‘संविधान पालना नगर्ने सरकारको आदेश जनताले किन पालना गर्ने ?’

राप्रपा सांसद पशुपति शमशेर जबराले पञ्चायतमा समेत आफूले हिरालाल विश्वकर्मालाई आफ्नो सहायक बनाएको बताउँदै अहिले दलित समुदायको प्रतिनिधित्व नभएकोबारे प्रश्न गरे ।

सरकारको निर्णयको बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौला र कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मात्रै समर्थन गरेका थिए । साउन १४ गते बसेको मन्त्रिपरिषदको बैठकले १७ देशको लागि नेपाली राजदूत सिफारिस गरेको थियो ।

सरकारले चीनका लागि प्रा.डा. कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधार, जर्मनीका लागि डा. शैल रुपाखेती, भारतका लागि डा. शंकरप्रसाद शर्मा, इजरायलका लागि प्रा. धनप्रसाद पण्डित, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशबिक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई राजदूत बनाउन सिफारिस गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्