किस्तामा रकम तिर्न सरकारले एनसेललाई सुविधा दिने, लाईसेन्स नवीकरण हुने

बुधबार, भदौ १२, २०८१

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी ऐनसेलको सेवा सञ्चालन अनुमतिपत्र नवीकरण गर्न सरकारले किस्ता सुविधा दिने भएको छ ।

नवीकरण गर्न लाग्ने शुल्कमा किस्ता सुविधा दिनेबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ सकारात्मक रहेकाले सरकारले यसैअनुसार निर्णय लिने स्रोतले जनाएको छ ।

आगामी मन्त्रिपरिषद् बैठकमा एनसेलको सेवा सञ्चालन अनुमति पत्रको नवीकरण शुल्क किस्ताबन्दीमा भुक्तानी गर्ने गरी नवीकरण गरिनेछ ।

एनसेलको सेवा सञ्चालन अनुमति पत्रको ५ वर्षको अवधि भदौ १५ गते सकिनेछ । त्यसअघि नै सञ्चारमन्त्री गुरुङले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेर नवीकरण प्रक्रिया अगाडि बढाउने स्रोतले जनायो ।

दूरसञ्चार ऐन २०५३ र दूरसञ्चार नियमावली २०५४ बमोजिम २५ वर्ष सेवा सञ्चालनका लागि अनुमतिपत्र लिएको एनसेलले तोकिएको शुल्क बुझाएर गत जेठ १५ गतेभित्र नवीकरण गरिसक्नुपर्नेमा आंशिक शुल्क बुझाएर ५ किस्तामा शुल्क बुझाउने सुविधा मागेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०८:११
प्रतिक्रिया दिनुहोस्