सोसल मिडिया
युनिकोड
पहिलो महिला मुख्यसचिव बन्ने अभूतपूर्व अवसर पाएकी लिलादेवी गड्तौलाले भोलि शुक्रबारको काम सकेपछि घरै बस्नुपर्ने भएको छ। भदौ १५ गते ५८ वर्ष पूरा हुनेपछि घरै बस्नुपर्ने भएको हो।
गड्तौलाको अवकाशपछिको मुख्यसचिव आज बस्ने क्याबिनेटले नियुक्त गर्दैछ। हालका गृहसचिव एकनारायण अर्याल नेपालका २८ औँ मुख्यसचिव बन्ने श्रोतको दाबी छ। बिहिबार साँझ ५ बजे बस्ने बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने तयारी रहेको प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठक नियमित भनिए पनि मुख्यसचिव नियुक्तिको तयारी भएको स्रोत बताउँछ ।
मुख्यसचिवका लागि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई, र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल प्रतिस्पर्धामा थिए ।
प्रतिष्पर्धीलाई उछिन्दै अर्याल मुख्यसचिव बन्न लागेका एक मन्त्रीले पनि जानकारी दिए । १० साउनमा मुख्यसचिव नियुक्त भएकी गड्तौला नेपालको इतिहासमै पहिलो महिला मुख्यसचिव हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई गत १० असारमा राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी सरुवा गरेपछि वरिष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन् ।
अर्याललाई मुख्यसचिव नियुक्त गर्न यस अघि कांग्रेस सभापति शेरबहादुर देउवाले अनिच्छा देखाएपनि प्रधानमन्त्री ओलीले सबै कुरा मिलाएको श्रोतको भनाई छ। २०७६ फागुन १८ गते सचिवमा बढुवा भएका अर्याल काविल प्रशासक मानिन्छन्। उमेरका कारण अर्यालले मुख्यसचिवको तीन वर्षे कार्यकाल पुरा भने गर्ने छैनन्। अर्याल एक बर्ष मात्र मुख्यसचिवको भूमिकामा रहनेछन्। २०२४ साल मङ्सिर १० गते जन्मिएका अर्याल २०८२ मङ्सिर १० गरे सम्म पदमा बहाल रहनेछन्।