एमालेले भदौ १८ र १९ गते पोलिटब्यूरो बैठक डाक्यो

बिहीबार, भदौ १३, २०८१

नेकपा एमालेको सचिवालय बैठकले भदौ १८ र १९ गते पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको छ। 

आजको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले सदस्यता विस्तार अभिलेखीकरण र नविकरणको कामलाई प्रभावकारी बनाउनेबारे छलफल गरेको बताए। 

११ जिल्लामा बाँकी अधिवेशनको आयोजना गर्ने र तिनीहरुलाई अझ व्यवस्थित गर्नेबारेमा पनि छलफल भएको छ। पार्टी प्रवेश र जिम्मेवारीबिहीन अवस्थामा रहेकालाई तीन महिनाभित्र कमिटीगत जिम्मेवारी दिने निर्णय भएको छ। 

हरेक कमिटीले आफ्नो कार्यकर्ताको मूल्यांकनको व्यवस्थित ढाँचा निर्माण गर्ने कामको शुरुवात गर्ने, कमिटीहरु विधिसम्मत ढंगले सञ्चलन गर्ने, केन्द्रमा एउटा स्थायी पार्टी स्कुल र प्रदेशहरुमा सात वटा स्थायी पार्टी स्कुलहरु सञ्चालन गरी वर्षको एक पटक हरेक पार्टी सदस्यले अनिवार्य दिक्षित हुने ढंगले पार्टी स्कुलको ढाँचा तय गरिएको उपमहासचिव ज्ञवालीले बताए। 

बैठकले जनप्रतिनिधिलाई प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको छ। त्यस्तै कम्युनिष्ट पार्टीहरुको एउटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नेबारे पनि छलफल भएको छ। 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १७:५८
प्रतिक्रिया दिनुहोस्