सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति जुटेको छ । शनिबार बसेको कांग्रेस शीर्ष नेताहरुबिचको बैठकले थापा र शर्माको प्रतिवेदनमाथि सहमति जुटाएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार गगनको प्रतिवेदनलाई केही परिमार्जनसहित अन्तिम रुप दिएर केन्द्रीय समितिमा पेश गर्ने निर्णय भएको छ । महामन्त्री शर्माको प्रतिवेदनलाई भने अहिलेलाई यथावत राखिने भएको छ ।
साथै, बैठकमा विधानले तोकेको मितिभित्र महाधिवेशन गर्ने समेत सहमति जुटेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिप कृष्णप्रसाद पौडलले विधानले तोकेको मितिभित्र महाधिवेशन गर्ने कुरा सहमति भएको बताए । उनका अनुसार पार्टीका विधानसँग सम्बन्धित मुद्दाहरू विधान मस्यौदा समितिमा पठाउने बैठकमा सहमति भएको छ ।
महामन्त्री थापाको प्रस्तावमा भने कहीँ कतैपनि गठबन्धनको उल्लेख गरिएको छैन । तैपनि आगामी निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने केही कुरा नआएपनि कांग्रेसले बहुमत ल्याउने गरेर संगठनलाई विस्तार गर्ने सहमति भएको बताइएको छ ।
बैठकमा वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरू पनि सहभागी थिए । आइतबार पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ । त्यसअघि प्रतिवेदनमा सहमति जुटाउन सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएका हुन् ।