गृहसचिव बन्न चार भाईको रुची, ससुरालीको नाता जोडेर जुईनो कसिने पक्का

आइतबार, भदौ १६, २०८१

गृहमन्त्रालयको सचिव छँदै एकनारायण अर्याल मुख्यसचिवमा बढुवा भएपछि रिक्त गृहसचिव बन्न चार सचिवले रहर गर्दै दौड बढाएका छन्। 

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा बढुवा गरेपछि रिक्त गृहसचिव बन्न विनोदप्रकाश सिंह, कृष्णहरि पुस्कर, नारायणप्रसाद शर्मा दुवाडी र दीपक काफ्लेबीच प्रतिष्पर्धा छ ।

सिंह महालेखा नियन्त्रण कार्यालय, पुस्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, दुवाडी राष्ट्रपतिको कार्यालय र काफ्ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव छन् ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने भएपछि सबैभन्दा आकर्षक मानिने गृहसचिवमा पुग्न चार सचिवले लविइङ तिव्र पारेका हुन् । सम्भवत भोलि नै सचिवको सरुवा हुने छ। 

सुदूरपश्चिमको कञ्चनपुर घर भएका रमेश लेखक गृहमन्त्री छन् । तसर्थ सुदूरपश्चिम नै घर भएका सचिव सिंह र सुदूरपश्चिममा ससुराली भएका पुस्करबीच भौगोलिक निकटता देखाएर गृहमा पुग्‍न चर्को प्रतिष्पर्धा रहेको निकटस्थ स्रोतले बतायो । पुस्करको ससुराली डोटी हो। सहसचिव आभा श्रेष्ठका श्रीमान् पुस्कर ससुरालीको जुईनो जोडेर गृहसचिव बन्ने लगभग पक्का छ। 

आकांक्षा चार सचिवले देखाए पनि प्रतिष्पर्धा पुस्कर र सिंहबीच रहेको बताइन्छ । स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पुस्करलाई गृहसचिव बनाउने सहमति बनिसकेको पनि स्रोतहरूले दाबी गरेका छन् । हुन त पुस्कर यस अघि नै गृहसचिव बन्न जोड दिएर लागिपरेका थिए। 

प्रतिष्पर्धामा रहेका सिंहलाई भने सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाएर पठाउने तयारी भएको बताइन्छ । सस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्री पाण्डे पनि सुदूरपश्चिमको बाजुराका हुन् । पाण्डेले बाजुराकै सहसचिव नारायण रेग्मीलाई मन्त्रालयमा लागिसकेका छन्। 

पुस्करले यसअघि अर्थसचिव भएर र सिंहले गृहसचिव भएर काम गरिसकेका छन् । उता अपाङ्गकोटा प्रयोग गरेर सचिव बनेका काफ्लेको  निर्णय क्षमता नभएको भन्दै गृहसचिव बनाएर भित्र्याउन स्वयम् मन्त्री नै अनिच्छुक रहेको श्रोतको दाबी छ। 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्