अर्बपति चौधरीको नबिल बैंक फोर्नेले मुख्य स्पेसमा राखेको पैसै देखेन

बैंकमा चोरले नै लगाए नयाँ ताला
बुधबार, वैशाख १९, २०८१

नेपालका एक मात्र अर्बपति विनोद चौधरीको नबिल बैंक मंगलबार बिहान चोरको निशानामा पर्यो। वीरगन्जको बाइपास रोडस्थित नबिल बैंकबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भयो। रकम चोरी गरेको आरोपमा आज प्रहरीले दुईजना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ।

घटना भएको भोलिपल्ट पुलिसले खाँटी चोर भने समातेको छैन। शंका लागेर नियन्त्रणमा लिएका दुईजनाले नै बैंक चोरेको हो भन्ने पुष्टी प्रहरीले गरिसकेको छैन। चोर नै फेला नपारेको प्रहारीले चोरी भएको पैसा बरामद गर्ने कुरै भएन। अनुसन्धान तिब्र पारेको बताउने प्रहरीले छिटै सत्यतथ्य बाहिर ल्याउने बताएको छ। 

नबिल बैँकले १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको थियो। 

प्रहरीका अनुसार चोरको एक समूहले बिहान करिब चार बजे बैंकको ताल्चा फुटाई भित्र पसेको देखिन्छ। वेल्डिङ गर्ने मेसिनले टिनको बक्सा काटेर नगद निकालेको र बोरामा हालेर लगेको प्रहरीको भनाइ छ। बैंकले प्रहरीमा दिएको विवरणअनुसार, टिनमा एक सय र बीस रुपैयाँ दरका नोट थिए। चोरी गरी फर्किने क्रममा गेटमा नयाँ ताल्चा लगाएर चोर भागेको पाइएको छ।

सोमबार बिहान बैंकका गार्डले ताल्चा खोल्न खोज्दा नखुलेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको रोहबरमा ताल्चा फुटाएर भित्र प्रवेश गर्दा चोरी भएको पाइएको थियो। चोरीमा करिब ७ जनाको समूह सहभागी भएको पाइएको छ। धेरै पैसा राखेको मुख्य ठाउँको चाँही चोरले भेउ नै नपाएको बैंकको भनाई छ। मुख्य स्पेसको पैसा भने जोगिएको छ। त्यहाँ चोरले लागेको भन्दा तेब्बर बढी पैसा थियो। 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्