सोसल मिडिया
युनिकोड
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत आज शुभकामना व्यक्त गर्दै ओलीले श्रम नै जीवन, श्रम नै विश्वास, श्रम नै पूजा र श्रम नै प्रसाद भएको उल्लेख गरेका हुन् ।
श्रम जीवन र जगत्को अपरिहार्य, अविछिन्न र अभिन्न प्रक्रिया हो भन्ने तथ्यलाई आत्मसात् गर्दै रोजगारीको सृजना, श्रमको सम्मान, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गरी मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुन पूर्व प्रधानमन्त्री ओलीले आह्वान पनि गरे।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेको उनले बताए ।
उता, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको हक, उचित पारिश्रमिक र सामाजिक सुरक्षाको प्रत्याभूति गर्न जरूरी रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उनले नेपालको राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेपनि मजदुर वर्गको आर्थिक तथा सामाजिक जीवनसँग जोडिएका समस्या समाधान हुन नसकेकाले समाजवादका माध्यमबाट औद्योगिक विकास गरी ति समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
मुलुकको सामाजिक–आर्थिक रूपान्तरणका लागि श्रमिक वर्गले विगतका गरेका सङ्घर्ष तथा पुर्याएका योगदानको सम्मान गर्न सकेमा मात्रै श्रमिक दिवसको महत्वलाई स्थापित गर्न सकिने पनि उनको भनाई छ ।