प्रधानमन्त्रीको पार्टीको पोलिटब्युरो बैठक आज पनि

बुधबार, भदौ १९, २०८१

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा पोलिटब्युरो सदस्यहरूले धारणा राख्ने र प्रत्येक सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइएको छ ।

हिजोबाट सुरु भएको बैठकको पहिलो दिन महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । कार्ययोजनामा सदस्यतादेखि संगठन विस्तारको खाका प्रस्तुत गरिएको छ ।

संगठित सदस्यको संख्या १० लाख पुर्‍याउने एमालेको लक्ष्य रहेको छ । 

वडामा कुल मतदाताको तीन प्रतिशत र पालिका र जिल्लामा १० प्रतिशत संगठित सदस्य बनाउन सके १० लाखको लक्ष्य पूरा हुने कार्ययोजनामा उल्लेख छ । जनसंगठनहरूलाई अधिवेशनमार्फत चुस्त र उनीहरूका काम प्रभावकारी तुल्याइनुपर्ने कार्ययोजनामा उल्लेख गरिएको छ । एमालेले तहगत कमिटीमा १० देखि ३३ प्रतिशतसम्म युवा सहभागितालाई सुनिश्चितता गर्ने गरी कार्ययोजना अघि सारेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्