राष्ट्रपति पौडेलले पूर्वराष्ट्रपति सहित क-कसलाई खुवाए दर ?

बुधबार, भदौ १९, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वराष्ट्रपतिसहित विशिष्ट महिलाहरुलाई दर खुवाएका छन्।

तीजको उपलक्ष्यमा मंगलबार राष्ट्रपति भवनमा पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी, परराष्ट्रमन्त्री आरजु राणा, सांसदहरु, पूर्वमहिला सांसद तथा संवैधानिक नियोगका महिला पदाधिकारीलाई दर खुवाएका हुन्।

प्रथम महिला सविता पौडेलको नामबाट गरिएको आमन्त्रणमा संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुको उपस्थिति थियो।

संक्षिप्त औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संविधान र कानुनले महिलाहरूलाई प्रदान गरेका हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी भएको बताए।

हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तब्य राख्दै राष्ट्रपति पौडेलले महिलाहरूका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि विस्तारै विकास हुँदै गएको सुनाए।

उनले भने, ‘आज समाजमा धेरै परिवर्तन आइसकेको छ । महिलाहरूको अवस्थता अब यस्तो छैन् भन्ने मलाई लाग्दछ । नेपालको संविधान, ऐन कानुनमा महिला अधिकारको धेरै व्यवस्था भइसकेको छ । महिलाहरूका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि विस्तारै विकास हुँदैछ । तर संविधान र कानुनले महिलाहरूलाई प्रदान गरेको हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी छ ।’

उनले विभिन्न संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण सम्वद्र्धन र निरन्तरतामा लागिरहनुपर्ने पनि उल्लेख गरे।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्