एमालेले कम्युनिष्ट मोर्चाबन्दी नगर्ने, कसैको बैशाखी नटेक्ने 

बुधबार, भदौ १९, २०८१

नेकपा (एमाले)ले अहिले कुनै मोर्चाबन्दी बनाउन नहुने निष्कर्ष निकालेको छ । बुधबार पोलिट्ब्युरो बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले तत्काल कुनै वामपन्थी मोर्चा नबन्ने निष्कर्ष निकालिएको जानकारी दिए ।

“अहिले कुनै वामपन्थी मोर्चा बन्दैन । त्यो दिशामा फर्केर हेरेका छैनौँ,” अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निष्कर्ष सुनाउँदै गौतमले भने ।

एमालेले आगामी निर्वाचनमा एक्लै लड्ने पनि निचोड निकालेको छ । गौतमले कांग्रेसले एक्लै लड्ने भनेको सन्दर्भमा एमालेले पनि बैसाखी नटेक्ने निष्कर्ष निकालेको बताए ।

“एमाले एक्लै आफ्नो नीति तथा कार्यक्रमको आधार बोकेर हिजो पनि चुनाव लडेको हो । आज पनि एक्लै चुनाव लड्छौँ । कसैको बैसाखी टेक्दैनौँ भन्ने कुरा उठेको छ,” गौतमले भने ।

बैठकमा महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको कार्ययोजनामा ५१ जना सदस्यले आफ्नो धारणा राखेका थिए । प्रभावकारी कार्यान्वयनमा नेताहरूले जोड दिएका थिए । बैठकले १५ वटा समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  २०:०१
प्रतिक्रिया दिनुहोस्