निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान सूक्ष्मरूपमा हुने गृहमन्त्रीले गरे ठोकुवा 

बिहीबार, भदौ २०, २०८१

गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान सूक्ष्मरूपमा हुने बताएका छन् । बिहीबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्मला पन्त हत्या प्रकरणलाई सरकारले गम्भीरताका साथ लिएको बताएका हुन् ।

गृहमन्त्री लेखेकले भने, ‘यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु, यो घटनाको सूक्ष्म ढंगले अनुसन्धान हुन्छ ।’
उनले कार्यक्रममा कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रूपमा विकास गर्ने समेत बताए ।

कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ’ उनले भने, ‘निकट भविष्यमै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ । यसले चीनसँग जोड्छ ।’ दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको उनको भनाइ छ ।

गृहमन्त्री लेखकले भने, ‘दुई तीन महिनाभित्रै सुख्खा बन्दरगाह निर्माणका लागि भारतले टेन्डर आह्वान गर्छ । छिट्टै सुख्खा बन्दरगाहको काम अघि बढ्ने छ ।’ तीन दिने भ्रमणमा गृह जिल्ला पुगेका गृहमन्त्री लेखकले कञ्चनपुरमा दुई वटा प्रहरीका भवन उद्घाटन गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्