सोसल मिडिया
युनिकोड
सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री राजकुमार गुप्ताले बाराको जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले मन्त्रालयविरुद्ध मुद्दा दायर गरेको र नटेरेका कारण अमेरिका भ्रमण रद्द गरिएको प्रस्टोक्ति दिएका छन् ।
बिहीबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा माओवादी केन्द्रकी सांसद दुर्गा राईले सोधेको प्रश्नमा उनले मन्त्रालय र मन्त्रीलाई नटेरेका कारण भ्रमण रद्द गर्न बाध्य भएको बताए ।
सांसद राईले सोधेकी थिइन्, ‘मैले एउटा समाचार पढें । एउटा कार्यक्रममा जान आँटेको पालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई अमेरिका जान लागेको अवस्थामा किन रोकिएको हो ? कर्मचारीमाथि यसरी डण्डा लगाउन मिल्छ राजनीतिक आस्थाको आधारमा ? यदि त्यस्तो हो भने कर्मचारी कसरी काम गर्न सक्छ ? यो विषयमा मन्त्रीसँग जवाफ चाहन्छु । राजनीतिक आस्थाका हिसाबले प्रतिसोध साँध्नु राम्रो होइन ।’
मन्त्री गुप्ताले ४–५ पटकसम्म लगातार मन्त्रालयमा बोलाउँदा पनि नआएका र काठमाण्डु आएर पनि मन्त्रालयलाई नटेरेकाले भ्रमण रद्द गरिएको बताए ।
उनले भने, मन्त्री कुनै पार्टी र जिल्ला र क्षेत्रको हुँदैन । देशको हुन्छ । त्यो कुर्सीमा बस्दा न्याय गर्नुपर्छ । सधैं मन्त्री हुँदैन, केही समयमा लागि हुने हो । पूर्वाग्रही ढंगले निर्णय गरेको छैन । मेयर एक्लै एकातिर तर बाँकी सबै दलका जनप्रतिनिधि एक ठाउँमा हुनुहुन्छ । उपमहानगरपालिकामा परिषद् पनि भएको छैन । मैले भिडियो पनि पाएको छु । उहाँ महिला हुनुहुन्छ तर पालिकाकै कार्यालयमा तथानाम बोल्नुभएको छ । मन्त्रालयमाथि मुद्दा पनि हाल्नुभएको छ । ४–५ पटकसम्म लगातार मन्त्रालयमा बोलाउँदा पनि आउनुभएन । काठमाण्डु आएर पनि मन्त्रालयलाई टेर्नुभएन ।’
सामान्य प्रशासन मन्त्रालय कर्मचारीको अभिभावक भए पनि काफ्लेले मन्त्रालयमा कुरा नराखेको मन्त्री गुप्ताले बताए । उनले भने, ‘सामान्य प्रशासन मन्त्रालय कर्मचारीको अभिभावक मन्त्रालय हो । मन्त्रालयमा आएर आफ्नो कुरा राख्नुभएन । लिखित र मौखिक जानकारी गरायौँ तर पनि आउनुभएन । मन्त्रालयले उहाँको मुद्दा पनि खेप्ने र नटेर्ने कर्मचारीलाई अमेरिका भ्रमणमा पनि पठाउने हुँदैन भन्ने निष्कर्षमा पुगेर भ्रमण रद्द गरेको हो । आजसम्म हामी अमेरिका भ्रमणमा गएका छैनौं, उहाँलाई किन रोक्ने जान दिऊँ भनेर नै ४–५ दिन फाइल रोकेको हो ।’