गृहसचिवमा गोकर्णको नाम, तर किन भएन नियुक्तिको काम ?

बिहीबार, भदौ २०, २०८१

तत्कालीन गृहसचिव एकनारायण अर्याललाई सरकारले मुख्यसचिव नियुक्त गरेपछि गृह मन्त्रालय प्रशासनिक नेतृत्वविहीन बनेको अवस्थामा बिहीबारको मन्त्रिपरिषद् बैठकले गृहसचिव नियुक्त गर्न सकेन । बिहीबारको मन्त्रिपरिषद् बैठकमा गृहसचिव नियुक्ति लगायत एजेन्डा रहे पनि गृहमन्त्री रमेश लेखकले गृहसचिवको नाम प्रस्ताव नै गरेनन् ।

मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टै सल्लाह गर्ने भनेर गृहसचिव नियुक्तिको एजेन्डालाई अगाडि बढ्नबाट रोकेका थिए । गृहमन्त्री लेखकले नाम प्रस्ताव नगर्दा सरकार अनिर्णित बनेको छ ।

सुदूरपश्चिम भ्रमणबाट बिहीबारै काठमाण्डु फर्किएका गृहमन्त्री लेखकले गृहसचिवको प्रस्तावबारे प्रधानमन्त्री ओलीसँग एक्लै सल्लाह गर्न खोजेका छन् ।

स्रोतका अनुसार गृहमन्त्री लेखकले कनिष्ट सचिव गोकर्णमणि दुवाडीलाई गृहसचिव बनाउन खोजे पनि मन्त्रिपरिषद् बैठकमा खुलेर प्रस्ताव गर्न सकेनन् । उनले प्रधानमन्त्री ओलीसँग छुट्टै सल्लाह गरेर दुवाडीलाई गृहसचिव बनाउने एकल निर्णय गराउन खोजेको हुनसक्ने स्रोतले जनाएको छ ।

सचिव दुवाडीले हालै चीनबाट नेसनल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् । दुवाडी अहिले प्रधानमन्त्री कार्यालयमै कार्यरत छन् । दुवाडीसंग गृहमा काम गरेको खास्सै अनुभव छैन । यसअघि गृहसचिव भइसकेका सिंह र अर्थसचिव समेत रहेका पुष्करको भने गृहमा लामो अनुभव छ ।

गृहसचिव बन्न विनोदप्रकाश सिंह, कृष्णहरि पुस्कर, नारायणप्रसाद शर्मा दुवाडी र दीपक काफ्लेको नाम चर्चामा छ । सिंह महालेखा नियन्त्रण कार्यालय, पुस्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, नारायण दुवाडी राष्ट्रपतिको कार्यालय र काफ्ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव छन् ।

सुदूरपश्चिमको कञ्चनपुर घर भएका रमेश लेखक गृहमन्त्री छन् । तसर्थ सुदूरपश्चिम नै घर भएका सचिव सिंह र सुदूरपश्चिम ससुराली भएका पुस्करबीच भौगोलिक निकटता देखाएर गृहमा पुग्न चर्को प्रतिष्पर्धा रहेको स्रोतले जनाएको छ । तर लेखकले भने अर्कैलाई बोकेको बताइन्छ । त्यसको पछाडी भूराजनीतिक दबावले काम गरेको स्रोतको दावी छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  २१:५४
प्रतिक्रिया दिनुहोस्