टेलिकमले यसकारण पायो संगीता, नेतृत्व गर्ने दोश्रो महिला बनिन्

शुक्रबार, भदौ २१, २०८१

अविछिन्न तीस वर्ष दूरसञ्चार क्षेत्रलाई टेको लगाएर एकै गतिमा काम गरेकी संगीता पहाडी अर्याल त्यहि क्षेत्रको उचाईमा पुगेकी छिन्। अर्थात अब उनले नेपाल टेलिकमको कमाण्ड गरेकी छिन्। 

हुन त उनले एकाध वर्ष यतादेखि कायममुकायम प्रबन्ध निर्देशक भएरै काम गरिरहेकै हुन्। तर, अब भने त्यो कायममुकायमको फुर्के सरकारले हटाएर प्रबन्ध निर्देशकको पूर्ण जिम्मा लगाएको छ। 

तीन दशक लामो समय दूरसञ्चार क्षेत्रमा बिताएकी संगीता पहाडी अर्याल अब नेपाल टेलिकमको नेतृत्व सम्हाल्दै छिन्। भदौ २० मा बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई कम्पनीको रिक्त प्रबन्ध निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको छ।

यसअघिका प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि पद रिक्त रहेको पदले संगीतालाई पर्खिएको हो।  

नेपाल टेलिकमको नेतृत्व चयन प्रक्रिया यसअघिकी सञ्चारमन्त्री रेखा शर्माले अघि बढाएकी थिइन्। आवेदन माग गरेर अन्तर्वार्ता र प्रस्तुतीकरणपछि प्रक्रिया रोकिएको थियो।

प्रतिस्पर्धामा रहेका १७ जनालाई पछि पार्दै संगीता एक नम्बरमा उक्लिन सफल भएकी हुन्। उनलाई कसैको निगाहले भन्दा पनि उनको विगतको कार्यशैली र नतिजामुखी काम गराई बाट प्रभावित भएर जिम्मा लगाईएको हो।  

प्रबन्ध निर्देशक पहाडीले भारतको अलाहावाद विश्वविद्यालयबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छिन्। 

२०४९ मै अस्थायी इन्जिनियरको रूपमा टेलिकम प्रवेश गरेकी उनले २०५१ मा स्थायी नियुक्ति पाइन्। टेलिकममा उनी चिफ टेक्निकल अफिसर र चिफ कमर्सियल अफिसर भएर काम काम गरेको अनुभव छ। 

पहाडीको नियुक्तिसँगै सरकारी स्वामित्वको संस्थान नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले दोस्रोपटक महिला नेतृत्व पाएको हो। यसअघि कामिनीराज भण्डारी यस पदमा थिइन्। 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  २१:१३
प्रतिक्रिया दिनुहोस्