सोसल मिडिया
युनिकोड
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कामहरू छिटो सम्पन्न गरेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १९ बुँदे मागपत्र पेस गर्दै भट्टराईले द्वन्द्वकालीन घटनाहरूको सत्य अन्वेषण गरी न्याय स्थापित गर्दै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कामहरू छिटो सम्पन्न गरेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउन ध्यानाकर्षण गराएका हुन् ।
राजनीतिक परिवर्तनका उपलब्धीहरूको रक्षा गर्दै समाजमा मेलमिलापको माध्यमबाट दिगो शान्ति स्थापना हुनुपर्नेमा आफूहरूको जोड रहेको भट्टराईले बताए । उनले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता परिएका व्यक्तिहरूको छानविन आयोगमा सशस्त्र द्वन्द्वबाट पीडित परिवारको प्रतिनिधित्व गराउने व्यवस्था गरिनुपर्ने र यसको नेतृत्व राजनीतिक आस्थाका आधारमा नभइ राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा विज्ञता हासिल गरेकालाई नेतृत्व दिनुपर्ने उल्लेख गरे ।
द्वन्द्वकालीन घटनासँग सम्बन्धित नियमित अदालतमा रहेका सम्पूर्ण मुद्दाहरूलाई सङ्क्रमणकालीन न्याय प्रणालीको क्षेत्राधिकारमा ल्याएर छिटोभन्दा छिटो टुङ्ग्याउन आवश्यक पहलकदमी लिनुपर्नेमा आफूहरूको जोड रहेको उनले बताए ।
उक्त भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुचि नदेखाएको आरोप लगाए ।
प्रधानमन्त्री ओलीले प्रचण्डको पछिल्लो क्रियाकलापले सँगसँगै बस्न पनि नसकिने अवस्था सिर्जना भएको बताए । ‘उहाँको शैली त थाहा थियो नै तर पनि तीनतीन पटक प्रधानमन्त्री भएको व्यक्तिले मर्यादा नै नाघेर संसद्मा कुरा राख्नुभयो’ उनले भने, ‘उहाँको उद्दण्डताले सङ्क्रमणकालीन न्याय सम्बन्धी काम पनि प्रभावित हुने जोखिम बढेको छ । म न पक्ष, न विपक्ष, म त निष्पक्ष हुँ । म शान्ति प्रक्रिया टुङ्ग्याउन एकदमै सकारात्मक छु, तर म एक्लैले गरेर हुँदैन, खासगरी द्वन्द्वको एउटा पक्ष प्रचण्डजी तयार हुनुपर्यो ।’