सोसल मिडिया
युनिकोड
निजामती सेवामा ८६ हजार कर्मचारी रहेका भए पनि सरकारले एकजना सर्वोत्कृष्ट फेला पार्ने सकेन। यो वर्ष मात्र नभएर बिगत लामो समय यता सरकारले सर्वोत्कृष्ट कर्मचारी भेट्टाउन नसकेको हो।
सर्वोत्कृष्ट कर्मचारीविनै शनिवार २१औँ निजामती दिवस नमाएको सरकारले गएका ७ वर्षमा जस्तै यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेट्टाउन नसकेको हो।
योग्य र सक्षम कर्मचारी नभेटेपछि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार यो वर्ष पनि कसैलाई नदिइएको बताईएको छ।
शुक्रवार अपराह्न निजामती पुरस्कार सिफारिश छनोट समितिको बैठक बसेको थियो। मुख्यसचिवको अध्यक्षतामा सर्वोत्कृष्ट तथा निजामती पुरस्कार सिफारिश समिति गठन हुन्छ। समितिमा संघीय मामिला तथा अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी हुन्छन्।
सर्वोत्कृष्ट पुरस्कार २ लाख रुपैयाँको छ। २०७३ सालमा भने शान्तराज सुवेदीलाई सर्वोत्कृष्ट कर्मचारी पुरस्कार दिइएको थियो। सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार हालसम्म ४ जनाले मात्र पाएका छन्। पछिल्लो पटक सो पुरस्कार पाएका सुबेदीको उत्तराधिकारी हाल सम्म फेला पर्न सकेकै छैनन्।
२०६८ सालमा तत्कालीन परीक्षा नियन्त्रक सूर्य गौतम, २०६९ सालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव भगवतीकुमार काफ्ले र २०७० सालमा उपत्यका विकास प्राधिकरणका काठमाडौँ जिल्ला आयुक्त भाइकाजी तिवारीले पुरस्कार हात पारेका थिए। गौतमले सचिव बाट अवकाश पाई सकेका छन्। श्रीमतीको उत्तरपुस्तिका जांच गरेको दोष लागेका गौतमले सो पुरस्कार पाएका थिए।
निजामती सेवा दिवसका अवसरमा २०६१ सालदेखि सरकारले सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती सेवा पुरस्कार दिन थालेको थियो। सर्वोत्कृष्ट कर्मचारी छान्ने क्रम २०७४ सालदेखि हुन नसकेको हो।
निजामती सेवा नियमावलीले सर्वोत्कृष्ट तथा उत्कृष्ट पुरस्कार पाउने कर्मचारीको न्यूनतम आधार र मापदण्ड तोकेको छ। पुरस्कार पाउन त्यस वर्ष व्यक्तिगत या संस्थागत रूपमा विशेष योगदान पुर्याएको, निजामती सेवामा प्रवेश गरेको कम्तीमा ८ वर्ष पुगेको, कुनै पनि विभागीय सजाय नपाएकोलगायत मापदण्ड तोकिएको छ।
तर ७ वर्षसम्म एउटै पनि सर्वोत्कृष्ट कर्मचारी नपाउनु राज्यका लागि विडम्बना रहेको भन्दै सर्वत्र आलोचना शुरू भएको छ। आलोचनासँगै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हरेक दिन कतै न कतै आफ्नो पदको दुरूपयोग गरेर लाभ लिइरहेका व्यक्तिलाई डाम्ने क्रम तीव्र बनाएको चर्चा पनि छ।
यो बर्ष पनि उत्कृष्ट पुरस्कार पाएका केही व्यक्ति बिबादित छन्। सात लाख घुस बुझाएर भनेकै ठाउँमा सरुवा भएका व्यक्तिले पनि पुरस्कार हत्याएपछि आलोचना भएको छ।