सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बिग्रिन नदिने बताएका छन् ।
नेपाली कांग्रेस चितवनले सोमबार आयोजना गरेको ‘जननायक बीपी कोइरालाको १११औं जन्मजयन्तीको अवसरमा विशेष सम्मान’ कार्यक्रममा उनले कांग्रेस सबैको घर भएको र यसलाई बिग्रिन नदिने बताए ।
उनले भने, ‘घरमा केही फोहर देखिएको थियो, त्यसलाई सफा गर्छाैं । बिग्रिन लागेको घर हामी समाल्छौं ।’
महामन्त्री थापाले पछिल्ला समयमा कांग्रेसले निर्वाचन जित्नका लागि मात्रै गठबन्धन गरेको र अब विचारको आधारमा अगाडि बढ्ने विश्वास दिलाए । निर्वाचन जित्नु र सरकार बनाउनुलाई प्राथमिकतामा नराखी कांग्रेसको विचारलाई गाउँगाउँसम्म पुर्याउन आवश्यक रहेकोमा उनले जोड दिए ।
‘अबका निर्वाचनमा कांग्रेसलाई एक्लै लड्न सक्ने गरी संगठनलाई सुदृढ बनाएर अघि बढ्नुपर्नेछ । गठबन्धनको राजनीति राम्रो नभएको बुझेर नै केन्द्रीय समितिले निर्णय लिएको छ । त्यसैले एकपटक सबैले आफूलाई सच्याउने संकल्प लिएर अघि बढौं,’ महामन्त्री थापाको भनाइ थियो ।
उनले केन्द्रीय समितिको बैठकबाट कांग्रेस शुद्धीकरणको बाटोमा अघि बढेको समेत बताए । अब विगतमा जस्तो पार्टी माथि बिग्रिदा तल बिग्रियो भन्ने छुट कसैलाई नभएको उल्लेख गर्दै महामन्त्री थापाले हरेक समस्या समाधानको केन्द्र बन्ने गरी कांग्रेस अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।