सोसल मिडिया
युनिकोड
राष्ट्रिय टिमका व्यवस्थापक र खेलाडीहरूको अब निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ । सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले उनीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यको आज सुरुवात भएको छ ।
देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरूको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुट मन्त्रालयको पहलमा अस्पतासँग सम्झौता भएको हो ।
गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशका लागि खेल्ने खेलाडीहरूको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए । त्यसै अनुरुप स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र अस्पतालबीच खेलाडीको हरेक वर्ष मुटु परीक्षण गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै श्रोतबाट गर्नेछ ।
हाल केन्द्रकै तर्फबाट निःशुल्क परीक्षण भए पनि आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर कार्यक्रम अघि बढाउने मन्त्रालयले तयारी गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।
घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका ७ सय ५७ खेलाडी लाभान्वित हुनेछन् । कार्यक्रमको प्यारालिम्पिकमा कास्य पदक विजेता पलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षण गरेर परीक्षणको शुरूवात गरिएको थियो ।