रुद्रसिंहलाई नखाएको विष लागेन, अदालतले सफाई दिएपछि सचिव बन्ने बाटो खुल्यो

मंगलबार, भदौ २५, २०८१

विभिन्न अड्डाको कार्यालय प्रमुख भएका नेतृत्व गर्नमा खारिएका नेपाल सरकारका सहसचिव रुद्रसिंह तामाङलाई नखाएको विष जवर्जस्त लगाईएको थियो। तर, अन्तत उक्त विषमा कैफियत फेला परेपछि अख्तियारले लगाएको अभियोग विशेष अदालतले खारेज गरिदिएको छ। 

वरिष्ठ सहसचिव तामांग केही समयमै सचिव हुँदै छन्। उनको प्रशासनिक क्षमतालाई भुत्ते पार्न मुद्दा दायर गरिएको उनलाई नजिकबाट चिनेजानेकाले नै बताएका छन्। 

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भनी दायर मुद्दामा अध्यागमन विभागका तत्कालीन महानिर्देशक एवं सहसचिव रुद्रसिंह तामाङले सफाइ पाएका हुन्  ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाको प्रमुख कार्यकारीको रूपमा भएको बेला खानेपानीको बोर्ड सदस्यको रूपमा हस्ताक्षर गरेको भनी उनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । बोर्ड सदस्यको हैसियतमा जम्मा एउटा बैठकमा हस्ताक्षर गरेकै भरमा तामांगलाई डाम्न खोजिएको थियो।

अख्तियारले तामाङसँग ११ करोड ९ लाख १७ हजार ४ सय ५८ रुपैयाँ बिगो दाबी गरेको थियो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप लागेकामध्ये तामाङसहित १० जनालाई सफाइ दिएका हुन् ।

विशेषबाट सफाइ पाएसँगै निलम्बनमा परेको सहसचिव तामाङ पुनः सरकारी सेवामा फर्कने बाटो खुलेको छ। हस्ताक्षर गर्दा काठमाडौँ महानगरपालिकामा रहेको सहसचिव तामाङ मुद्दा दायर हुँदा अध्यागमनमा रहेका थिए । एक वर्ष भित्रमै तामांग नेपाल सरकारको सचिव हुने सम्भावना छ। 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्