सोसल मिडिया
युनिकोड
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने शक्तिको चलखेल हुन थालेको बताएका छन् । नेकपा (एकीकृत समाजवादी) चितवनको १० औँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले संविधान र गणतन्त्रको रक्षाका लागि यसको पक्षमा रहेका शक्तिहरु एक हुनुपर्ने बताएका हुन्। उनले भने, “संविधान र गणतन्त्रको विरोधी शक्तिसँग हातेमालो गर्न सकिँदैन ।” अहिले पार्टी गठबन्धनमा रहेको भए पनि चैन भने नरहेको भन्दै उनले आक्रोस पोखे । उनले भने, “केही विमति छन् । कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैन ।” देशलाई समृद्धिको यात्रामा लैजान पहिला जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनले बताए । समाज परिवर्तन र बेथिति अन्त्यका लागि पार्टीका कार्यकर्ता लाग्नुपर्ने उनले बताए । उनले नेकपा एमालेप्रति लक्षित गर्दै नेतृत्व तह सुध्रिएर आए आफूहरु एकताको पक्षमा रहेको बताए । वामपन्थी शक्ति एकताबद्ध गर्नका लागि समाजवादी मोर्चा गठन गरिएको बताउँदै उनले विचार, सोच मिल्ने शक्तिसँग एकताबद्ध बनाउन सकिने बताए । एकताका लागि आत्मसमीक्षा, खुल्लापन र इमान्दारिता आवश्यक पर्ने उनले बताए। नेपालका कम्युनिष्ट दलमा अहिले खिया लागेको उनको भनाई छ। उनले भने, “कम्युनिष्ट दलहरुमा लागेको खिया हटाउन हामी आएका हौँ ।” अहिलेको राजनीतिमा कम्युनिष्ट आन्दोलनको विषयमा बहस हुन आवश्यक रहेको उनले बताए। पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले निर्वाचनबाट निर्वाचनसम्म मात्रै दलको यात्रा हुन नहुने बताए । दलले जनताको मन जित्न आवश्यक रहेको उनको भनाइ थियो । पार्टीलाई एकताबद्ध गर्दै अघि बढ्न आवश्यक रहेको बताउँदै उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै अघि बढ्न पार्टीको गठन गरिएको उनको भनाइ थियो ।