कोशी प्रदेशमा सत्ताको हिसाब मिल्यो, कांग्रेसलाई चार मन्त्री र दुई राज्यमन्त्री

बिहीबार, भदौ २७, २०८१

कोसी प्रदेशमा सत्ताको हिसाब मिलेको छ। नेपाली कांग्रेस चार मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने भएको छ ।
 
कांग्रेसले चार मन्त्री र राज्यमन्त्री लिने लगभग सहमति भएको संसदीय दलका नेता उद्धव थापाले बताएका छन् । कोसीमा सात मन्त्रालय छन् । अब मन्त्रालय बढेर नौ हुनेछन् ।

केन्द्रमा गठबन्धन फेरिएर कांग्रेस–एमाले सरकार गठन भए पनि कोसीमा सरकार विस्तार हुन बाँकी छ । एमालेका हिक्मत कार्की नेतृत्वको सरकारमा सहभागी हुन भागबन्डा नमिल्दा ढिलो भएको थियो । 

मुख्यमन्त्री कार्कीले मन्त्रालय संख्या बढाउन मानेका थिएनन् । कांग्रेसले संख्या बढाउनु पर्ने अडान लिएको थियो ।

सरकारबाट माओवादी केन्द्र बाहिरिएपछि कोसीमा मन्त्रालय खाली छन् । केन्द्रबाट सन्देश आउनासाथ कांग्रेसले आज (बिहीबार) नै मन्त्रीको नाम पठाउने सम्भावना रहेको बताइएको छ ।

संसदीय समितिहरूमा नेतृत्व लिन भने सत्तासीन दलले सहमति गरिसकेका छन् । सार्वजनिक लेखा समिति विपक्षी माओवादी केन्द्रलाई दिएर कांग्रेस–एमालेले तीन तीनवटा समितिको नेतृत्व गर्नेछन् । 

 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्