प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई खाजा खानेगरी आउन भन्दै पठाए निम्तो 

बिहीबार, भदौ २७, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै मन्त्रीलाई सिंहदरबार बोलाएका छन् । आज दिउँसो साढे २ बजे प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई आफ्नो कार्यालय सिंहदबारमा बोलाएका छन् ।

जनचाहना अनुसार काम गर्ने भन्दै गत असार ३० गते एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनेको थियो । तर, २ महिना पुग्न लाग्दा पनि मन्त्रीहरुको काम चित्त बुझ्दो नभएको भन्दै जनस्तरबाट आलोचना भइरहेको बेला उनले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्न लागेका हुन् ।

अधिकांश मन्त्रीहरु काममा भन्दा बढी विवादमा पर्दै आएका छन् । आज मन्त्रीहरुले गरेको प्रगति र आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा प्रधानमन्त्रीले मन्त्रीहरुसँग विवरण माग्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयका सहसचिव प्रेमप्रसाद आचार्यले जानकारी दिए ।

आज मन्त्रीहरुको ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कार्यालयले मन्त्रीहरुलाई खुवाउन उच्च स्तरको खाजा समेत अर्डर गरिसकेको छ। 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्