सोसल मिडिया
युनिकोड
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनयुद्ध नेपाल राज्य बनेयताकै सबैभन्दा ठूलो परिघटना भएको बताएका छन् ।
बिहीबार टेलिश्रृंखला राधाकृष्णको पहिलो एपिसोडको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । नेपाली भुईं तहको जनता लाखौँ संख्यामा कुनै अभियानमा सहभागी भएको पहिलो परिघटना भएको बताए ।
उनले सुगौली सन्धिभन्दा अघिको राज्य विस्तारको क्रममा टिस्टादेखि काँगडासम्म नेपाल राज्य विस्तार हुँदा मात्रै नेपालका सबै तह र तप्काका महिला, बालबालिकाहरू राज्य निर्माणमा सहभागी भएको उल्लेख गरे । जनयुद्धले नै संघीय लोकतान्त्रिक गणतन्त्रको अवसर दिएको पनि उनको भनाइ थियो ।
उनले भने, "जनयुद्ध भनेको नेपाल राज्य बनेयताको सबैभन्दा ठूलो परिघटना हो । नेपाली भुईं तहको जनता त्यो लाखौँ, पचासौँ लाखको हिसाबले कुनै अभियानमा सहभागी भएको थियो भने कि त सुगौली सन्धिभन्दा अघिको राज्य विस्तारको क्रममा टिस्टादेखि काँगडासम्म नेपालका सबै तह र तप्काका महिला तथा बालबालिका राज्य निर्माणमा सहभागी भएका थिए । कि त माओवादी जनयुद्धकै क्रममा देशभरकै सम्पूर्ण तह र तप्काका जनता सहभागी भएको थियो । त्यसले यस्तो परिघटनाले संघीय लोकतान्त्रिक गणतन्त्रको अवसर दिएको छ । समाजमा ठिक र बेठिकको लडाइँ निकै चल्छ । तपाईंहरूले यसको मूल्यांकन गर्ने हो ।"
अध्यक्ष भट्टराईले नेपाली जनताको सहभागितामा भएको परिवर्तनको पक्षमा टेलिश्रृंखला उभिने विश्वास व्यक्त गरे ।