हक्की स्वभावका सचिव बुर्लाकोटी, सरुवामा ‘भकुण्डो’ बनाईए कति चोटी ?

शुक्रबार, भदौ २८, २०८१

ओली सरकारले ४१ सहसचिव र सचिवको सरुवा गरेको छ। वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटी राष्ट्रिय तथ्याङ्क कार्यालय पुर्याईएका छन्। गोविन्दबहादुर कार्की वाणिज्यमा भित्रिएका छन्। उनी केही दिन अघि मात्र सचिव बढुवा भएका थिए। 

उपराष्ट्रपति कार्यालयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेपछि सचिव बुर्लाकोटी ‘भकुण्डो’ बन्न थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेको दुई महिना पनि नभई सचिव बुर्लाकोटी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पुऱ्याइए। त्यसको दुई महिनापछि वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका उनी डेढ महिना पनि नपुगी राष्ट्रिय तथ्याङ्क कार्यालय फ्यालिएका छन्।

हक्की स्वभावका सचिव भनेर चिनिने बुर्लाकोटीलाई अहिले आएर आफ्नै स्वभावले दन्काएको उनलाई चिन्ने जान्ने बताउछन। 

२०७८ असारमा सचिवमा बढुवा मधुसुदन बुर्लाकोटीलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएका थिए। सुदूरपश्चिम प्रदेशका प्रमुख सचिवबाट बुर्लाकोटी ६ महिनामै २०७८ पुसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएका थिए। प्रधानमन्त्री कार्यालयमा डेढ महिना पनि नबसी सचिव बुर्लाकोटी २०७८ फागुनमा सार्वजनिक खरिद अनुगमन कार्यालय पुगेका थिए। सार्वजनिक खरिद अनुगमन कार्यालय भने सचिव बुर्लाकोटी डेढ वर्ष बसे।

सार्वजनिक खरिद अनुगमन कार्यालयबाट सचिव बुर्लाकोटी २०८० साउनमा उपराष्ट्रपति कार्यालय सरूवा भएका थिए। उपराष्ट्रपति कार्यालयमा ८ महिना बसेपछि २०८० चैतमा उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेको दुई महिना पनि नपुगी सचिव बुर्लाकोटी २०८१ जेठ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा फ्यालिए। वित्त आयोगमा थन्क्याएको डेढ महिनापछि उनी फेरि वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव भएर गए। तर त्यहाँ पनि उनी डेढ महिना पनि टिकेनन्। २०८१ साउन १४ वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव बनेर गएका बुर्लाकोटी २०८१ भदौ नबित्दै राष्ट्रिय तथ्याङ्क कार्यालय पुगेका हुन्।

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी गोकर्णमणि दुवाडी गृहसचिव भएर गएपछि उक्त ठाउँमा बुर्लाकोटीको सरुवा गरिएको छ। दुवाडी र बुर्लाकोटी दुबै जना धादिङका हुन्। बुर्लाकोटी मन्त्रालयमा नटिक्ने सचिवमा परेका छन्।

गर्नु पर्ने बाहेकका नगर्नु पर्ने काममा चासो नदिने कारण उनी टिक्न नसकेको धेरैको तर्क छ। 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्