चार भाई उतै रहँदा गोबिन्दले बाजी मारे, बुर्लाकोटी हुत्याएर गोबिन्द वाणिज्यमा पुगे 

शुक्रबार, भदौ २८, २०८१

सरकारले दुई सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव मधुसूदन बुर्लाकोटी र बागमती प्रदेश प्रमुख सचिव गोविन्दबहादुर कार्कीको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार बुर्लाकोटीलाई राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्यांक अधिकारीमा सरुवा गरिएको छ भने केहि दिनअघि मात्रै सहसचिवबाट सचिवमा बढुवा भएका कार्कीलाई वाणिज्य सचिवको जिम्मेवारी दिइएको छ ।

तथ्याङ्क कार्यालयका तत्कालिन प्रमुख तथ्यांक अधिकारी गोकर्णमणि दुवाडीलाई गृह सचिवको जिम्मेवारी दिएपछि तथ्यांक कार्यालय प्रमुखको पद रिक्त थियो ।

यद्यपी कार्की भन्दा अघि नै सहसचिवबाट सचिवमा बढुवा भएका सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा.हरि लम्साल, कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, मधेश प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौडेल, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चूडामणी पौडेल भने प्रदेशमा नै रहेका छन् ।

जसमा लम्साल ५ महिना अघि गत चैत १५ मा, शर्मा साढे ४ महिना अघि गत बैशाख ६ मा र पौडेल साढे ३ महिना अघि गत जेठ ३ मा सहसचिवबाट सचिवमा बढुवा भएका थिए । कार्की भने एक साता अघि मात्रै भदौ २० मा सहसचिवबाट सचिवमा बढुवा भएर पदमा बागमती प्रदेश प्रमुख सचिवमा पदस्थापन भएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्