सोसल मिडिया
युनिकोड
नेकपा (माओवादी केन्द्र)ले संसद अवरोध कायम राख्ने निर्णय गरेको छ। संसदीय दलको शुक्रवारको बैठकले एमाले सचिव योगेश भट्टराईले जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गर्ने गरी हिंसा शब्द प्रयोग गरेको बिरोधमा जारी संसद् अबरोध कायम राख्ने निर्णय गरेको हो।
हिंसा शब्द संसदको अभिलेखबाट हटाउनुपर्ने मागमा सभामुख देवराज घिमिरेले छानबिन गरी असंसदीय शब्द नभएकाले हटाउनु नपर्ने निष्कर्ष सुनाएपछि २६ भदौको बैठक माओवादीले अवरोध गरेको थियो।
निरपेक्ष एउटा शब्द भन्दा पनि त्यसले सिंगो जनयुद्ध, शान्ति सम्झौता, संविधान, जनमुक्ति सेना, सहिद, घाइते तथा वेपत्ता परिवारको अपमान गरेकाले माग पूरा नभएसम्म अबरोध जारी राख्ने निर्णय भएको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए।
बैठकमा १४ सांसदले समसामयिक परिस्थितिबारे धारणा राखेका थिए भने अध्यक्ष प्रचण्डले उनीहरुको जिज्ञासाको सम्बोधन गर्दै पार्टीले संसदमा खेल्नुपर्ने भूमिकामाथि प्रकाश पारेका थिए।