सोसल मिडिया
युनिकोड
प्रतिनिधिसभा बैठक १ घण्टा पछि सरेको छ । राष्ट्रिय दलका सचेतक र प्रमुख सचेतकसँगको छलफल निष्कर्षविहीन भएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक १ घण्टाका लागि सारेका हुन् ।
सिंहदरबारमा बोलाइएको बैठकमा भएका छलफलबारे नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पार्टीमा छलफल गरेर जानकारी गराउने भनेपछि आज १ बजेका लागि बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो ।
यही भदौ १२ गते प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले ‘माओवादीको सशस्त्र हिंसा’ शब्द प्रयोग गरेपछि माओवादीले आपत्ति जनाएको थियो । पछि सभामुखले पनि उक्त शब्द संसदीय रहेको बताएपछि माओवादीले आपत्ति जनाउँदै संसदीय रेकर्डबाट हिंसा शब्द नहटाएसम्म संसद् बैठक चल्न नदिने निर्णय गरेको छ ।
सोहीबारे आज सभामुखले राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका थिए । माओवादीले पार्टीमा छलफल गर्ने भनेपछि संसद् बैठक १ घण्टा सारिएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठक सारेर अहिले माओवादी केन्द्रका सांसदहरू आन्तरिक छलफलमा जुटेका छन ।