सोसल मिडिया
युनिकोड
साताको पहिलो कारोबार दिन सेयरबजारमा धेरै कमाउने र गुमाउने दुवै हाइड्रोपावर कम्पनीका लगानीकर्ता छन्।
नेप्से ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा थामिएको दिन तीनवटा हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाग्यो भने एउटाको नकारात्मक सर्किट लागेको छ।
मात्र २४ कम्पनीको सेयर मूल्य बढेको दिन रिभर फल्स पावर लिमिटेड, हिमालयन हाइड्रोपावर, रावा इनर्जी डेभलपमेन्टको सेयरमा सकारात्मक सर्किट लागेको हो। यी कम्पनीको सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले क्रमशः ४९.५०, ४२.५० र ६६ रुपैयाँ प्रतिसेयर आम्दानी गरे।
यसबाहेक इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले पनि ९.९९ प्रतिशत अर्थात् ७४.६० रुपैयाँ आम्दानी गरे।
उता गिरावटतर्फ थ्रिस्टार हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन्। बाँकी कम्पनीको सेयर ९.४० प्रतिशतसम्मले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
१० अर्ब ३३ करोडको कारोबार
आज बजारमा कुल १० अर्ब ३३ करोडको सेयर कारोबार भएको छ। नेप्सेका अनुसार २ करोड ४८ लाख ४६ हजार कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो।
यो कारोबारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ६४ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३५ करोड, हिमालयन रिइन्स्योरेन्सको २८ करोड, अपि पावरको २५ करोड र सिंगटी हाइड्रोपावर इनर्जीको २४ करोडको कारोबार रकम योगदान मिलेको छ।
आज सबै उपसूचकहरु राताम्य छन्। सबैभन्दा बढी घट्नेमा होटल र पर्यटन, फाइनान्स, विकास बैंक, लगानी, जीवन बीमा छन्।