सोसल मिडिया
युनिकोड
संवैधानिक परिषद्को बैठक आज बस्दै छ । बैठक साँझ ५ बजे बस्ने भएको हो । आजको बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने बताइएको छ ।
परिषद्को बैठक यसअघि शुक्रबार पनि बसेको थियो । प्रधानन्यायाधीश सिफारिसबारे छलफल भए पनि बैठक निष्कर्षमा पुग्न सकेको थिएन । आज बस्ने बैठकले आवश्यक निर्णय लिने उपसभामुख इन्दिरा रानामगरले जानकारी दिए ।
शुक्रबारको बैठकमा सहभागी सदस्यहरूले परिषद्का निर्णयलाई विवादरहित तुल्याउन निर्णय अघि जुनसुकै विषयमा पनि पर्याप्त अध्ययन र छलफल गर्नुपर्ने सुझाव राखेका थिए ।
न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्मा पठाएको थियो । न्यायपरिषद्ले सिफारिस गरेका ८ जना मध्येबाट एकजनालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने हुन्छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट उमेर हदको कारण अवकाश पाउँदैछन् । संविधानमा बहालवाला प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ ।