प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत, संवैधानिक परिषद्ले गर्यो सिफारिस

सोमबार, भदौ ३१, २०८१

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतलाई सिफारिस गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बालुवाटारमा बसेको परिषद्को बैठकले सर्वसम्मतरूपमा राउतलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकमा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना सहभागी थिए। 

‘पहिलादेखि नै वरिष्ठलाई नै सिफारिस गरिँदै आएको रहेछ। यसपालि पनि वरिष्ठताका आधारमा सिफारिस गरिएको हो,’ उपसभामुख रानाले जानकारी दिइन्।

न्याय परिषद्ले यही भदौ २० गते नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ८ न्यायाधीशको नाम पठाएको थियो। तीमध्ये वरिष्ठतामा सबैभन्दा अगाडि रहेका राउतको नाम संवैधानिक परिषद्ले छानेको हो।

अब संसदीय सुनुवाइबाट अनुमोदन भएमा राष्ट्रपतिले राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन्।   

प्रधानमन्त्री ओलीले गएको बुधबार नै बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाएका थिए। बुधबार स्थगित भएको बैठक आज बसेको हो।

आजको बैठकलाई सहज ढंगले सञ्चालन गर्ने उद्देश्यसहित प्रधानमन्त्रीले हिजै विपक्षी दलका नेता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट उमेर हदको कारण अवकाश पाउँदैछन्। त्यसपछि न्यायपालिकाको नेतृत्व राउतले सम्हाल्ने गरी संवैधानिक परिषद्ले सिफारिस गरेको हो।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्