सोसल मिडिया
युनिकोड
सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिले सहकारी ठगीमा जीबी राईसहित रवि लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको छ ।
प्रतिनिधिसभाले गठन गरेको संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनमा सहकारी ठगीबाट फरार रहेका राईसँगै रवि लामिछानेलाई पनि कारबाही सिफारिस गरिएको छ ।
सहकारीबाट रविले नै रकम झिकेको भन्ने प्रमाणित नभए पनि उनले विभिन्न सहकारीको रकम गैरकानुनी तवरले आफू सञ्चालक रहेको कम्पनीमार्फत परिचालन गरेको र कम्पनी छाड्दासम्म पाइलैपिच्छे बदमासी गरेको छानबिनले औँल्याएको छ।
समितिको सिफारिसमा भनिएको छ, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’
त्यसरी सिफारिस गर्ने क्रममा सेयरहोल्डरहरूको दायित्वको विषय उल्लेख गरिएको छ । ‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा सेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन्,’ प्रतिवेदनको सिफारिसमा भनिएको छ, ‘सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन ।’
त्यस्तै, खातावाला हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन्, त्यसबापत दायित्व ग्रहण ग्रहण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । लामिछाने सेयरहोल्डरसहित प्रबन्ध निर्देशक रहेको गोरखा मिडियामा सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा उनी संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार कम्तीमा रविले ८ वटा गम्भीर प्रकृतिका बदमासी गरेको समितिको ठहर छ । समितिले ‘सहकारीको रकम गैरकानुनी तवरमा कम्पनीमा परिचालन गर्नु, त्यति ठूलो रकमको वैधानिक स्रोतबारे सोधीखोजी वा विमति दर्ज नगर्नु, लेखापरीक्षण प्रतिवेदनमा झुटो विवरण लेखाउनु, कानुनमा प्रबन्ध नै नभएको र कुनै लिखत नरहेको स्वेट सेयरको दाबी गर्नु, नक्कली कारोबार देखाएर कम्पनी रजिस्ट्रार कार्यालयमा सेयर लेनदेन गर्नु, आफैले नेतृत्व गरेको कम्पनीलाइ कुशासनमा डुबाउनु, नक्कली कारोबार गरी राजस्व छली गर्नु र थाहा छैन भनेर उम्किने प्रयास गर्नु’ रविको बदमासी भएको उल्लेख गरेको छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, सुप्रिम बचत तथा ऋण सहकारी संस्था, सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट ल्याइएको रकम रवि प्रबन्ध निर्देशक रहेको गोरखा मिडियामा परिचालन भएको देखिएको छ।
समितिले सहकारी बचत रकम अपचलनमा संलग्न रहेको आरोप लागेपछि फरार भएका जीबी राईसहित सूर्यदर्शन पोखराका थानबहादुर बुढा मगर, सहारा चितवनका दिनेश रोक्का, सुप्रिम सहकारी बुटवलका सागर केसी, सानो पाइला वीरगन्जका तस्वीरण खातुन र स्वर्णलक्ष्मी काठमाडौंका भूपेन्द्र राईलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
प्रतिवेदनको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस।